हत्यापछि तालिवानले शव सार्वजनिक स्थानमा झुण्ड्यायो

एजेन्सी । अफगानिस्तानमा तालिबानले चार जनाको हत्या गरेर उनीहरुको शव सार्वजनिक स्थानमा झुण्ड्याएको छ।
अफगानिस्तानको दक्षिणी शहर हेरातमा चारजनाको हत्या गरी उनीहरुको शव स्थानीय चौरमा झुण्ड्याइएको एशोसियटेड प्रेसले जनाएको छ ।
हत्या गरिएका व्यक्ति अपहरणकारी रहेको र चेतावनीस्वरुप शव सार्वजनिक स्थानमा झुण्ड्याइएको तालिबानले बताएको छ। उनीहरुलाई गोली हानेर शनिबार हेरातका विभिन्न चौरमा झुण्ड्याइएको हो।
तालिबानका नेता मुल्ला नूरुद्दिन तुराबीले यही हप्ता आफ्नो शासन व्यवस्थामा सार्वजनिक स्थानमा नभए पनि मृत्युदण्ड र शरीरका अंग काट्नेसहितका गम्भीर सजाय हुने बताएका थिए। त्यसको केही दिनपछि नै चारजनाको हत्या गरेर सार्वजनिक स्थानमा झुण्ड्याइएको हो।
अमेरिकाले शरीरका अंग काट्नेसहितका सजायको घोषणा तालिबानले गरेपछि त्यसको निन्दा गरेको थियो।
अफगानिस्तानको कानुनमा मृत्युदण्डको सजायको व्यवस्था रहे पनि पछिल्लो दुई दशक सार्वजनिक रुपमा यसलाई प्रयोग गरिएको थिएन। मृत्युदण्ड दिइए पनि सार्वजनिक स्थानमा हुने गरेको थिएन।
तालिबानले हत्या गरिएका चारजनाको शव सहरका खुला चौरमा क्रेनमार्फत झुण्ड्याइएको स्थानीय बासिन्दाले बताएका छन ।
गग अगस्ट १५ मा तालिबानले काबुल नियन्त्रणमा लिएको थियो। अहिले तालिबानको अन्तरिम सरकारले अफगानिस्तान शासन चलाइरहेको एशोसिएटेड प्रेसले जनाएको छ।


