लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सिरहा – वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज र इलाका प्रशासन कार्यालय लहान सिरहाको समन्वयमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा धेरै पसलहरु न व्यवसाय दर्ता भएका थिए, न दर्ता नवीकरण गरिएको थियो । यस्तै, खरिद-बिक्रीको बिलबिजक नहुनुका साथै पसलमा मूल्यसूचीसमेत नराखिएको पाइएको छ ।

अनुगमनको क्रममा नियम विपरीत व्यापार सञ्चालन गर्ने केही पसलहरूलाई जरिवाना गरिएको छ । जसमध्ये अनिता जनरल स्टोर्सलाई २० हजार, समाया ट्रेडर्सलाई १५ हजार, श्याम इलेक्ट्रोललाई १० हजार र मा इन्टरप्राइजेजलाई ५ हजार रुपैयाँ जरिवाना तोकिएको हो ।

यसैगरी, महावीर वस्त्रालय, बाबा फेन्सी स्टोर्स, नितिस ट्रेडर्स एण्ड सप्लायर्स, विवेक सुसेन्टर, प्रिया जनरल स्टोर्स, ओम किराना, हरेकृष्ण इम्पेरियम र अर्चिड क्याफेलाई पहिलोपटक चेतावनी दिँदै सचेत गराइएको छ । इलाका प्रशासन कार्यालय लहानका प्रमुख गोकर्णराज सुयलका अनुसार ती पसलहरूलाई तीन दिनभित्र मूल्यसूची राख्न र आवश्यक कागजात बुझाउन निर्देशन दिइएको छ । समयमै निर्देशन नमानिए कानुनी कारबाही हुने चेतावनी दिइएको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका प्रतिनिधि मधुरेशप्रसाद साहले अनुगमनको पहिलो चरणमा अखाद्य वस्तु बिक्रीमा संलग्न व्यवसायीलाई चेतावनी दिइएको र दोस्रो चरणमा कडाभन्दा कडा कारबाही हुने स्पष्ट पारे । साथै, उनले सुर्तीजन्य पदार्थ र मदिरा बिक्री गर्न इजाजतपत्र अनिवार्य हुने जानकारी दिएका छन् ।

अनुगमन टोलीमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, इलाका प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहा र सशस्त्र प्रहरीका प्रतिनिधिहरू सहभागी थिए ।

जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहाका अध्यक्ष विकास सारडाले व्यवसायीलाई स्थायी लेखा नम्बर, दर्ता प्रमाणपत्रहरू, नापतौल प्रमाणपत्र, आन्तरिक राजस्व कार्यालयको दर्ता प्रमाणपत्र तथा खरिद-बिक्रीको बिल अनिवार्य रूपमा राख्न र समयमै नवीकरण गर्न सुझाव दिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button