भारत–पाकिस्तानबीच हालको सैन्य तनावका कारण नेपाल–भारत सीमामा सुरक्षा सतर्कता

धनुषा- भारत–पाकिस्तानबीच बढ्दो सैन्य तनावको प्रभाव नेपाल–भारत सीमामा पनि देखिएको छ। सीमा क्षेत्रमा सुरक्षाकर्मीहरूले आवतजावतमा कडाइ गरेका छन्, विशेष गरी जटही र भिट्ठामोड नाकामा सुरक्षा सतर्कता उच्च बनाइएको छ। यी नाकामा नेपाल र भारत दुवै देशका सुरक्षा फौज तैनाथ छन्।

छिन्नमस्ता सशस्त्र प्रहरी ब्यारेकका नायब महानिरीक्षक कृष्ण ढकालका अनुसार, हाल दुवै देशका सुरक्षा निकायहरूले सीमा क्षेत्रमा संवेदनशीलता बढेको भन्दै प्रत्येक व्यक्तिको परिचय र गन्तव्यबारे जानकारी लिएर मात्र आवतजावत गर्न दिइरहेका छन्।

जटही नाकामा खटिएका प्रहरी नायब उपरीक्षक प्रमोद रायले भने, “भारत–पाकिस्तानबीचको तनावले नेपालमा प्रत्यक्ष असर नपरे पनि सीमा क्षेत्र संवेदनशील भएकाले हामीले सुरक्षा सतर्कता बढाएका छौं।” उनले विशेषगरी नयाँ अनुहार भएका र शंकास्पद गतिविधि देखाउने व्यक्तिहरूमाथि कडा निगरानी गरिरहेको जानकारी दिए। स्थानीयहरूले भने यसले दैनिक जीवनमा प्रभाव पारेको भन्दै चाँडै समाधानको आशा व्यक्त गरेका छन्। सिमाना नजिकका बजारहरू पनि प्रभावित भएका छन्।

धनुषाका प्रहरी प्रमुख नरहरि रेग्मीले स्थानीयवासीलाई संयमित रहन आग्रह गरेका छन्।

तालिम प्राप्त कुकुरबाट सुरक्षा जाँच

भारत–पाकिस्तान तनावलाई ध्यानमा राख्दै रुपन्देहीको सीमामा पनि निगरानी कडा बनाइएको छ। बेलहिया मुख्य नाका साथै लुम्बिनी, भगवान्पुर जस्ता सहायक नाकामा सशस्त्र प्रहरीको निगरानी बढाइएको छ।

बेलहिया नाकामा ‘डेजी’ र ‘साया’ नामका तालिमप्राप्त कुकुरद्वारा ‘डग स्निफिङ’ गरी मात्र व्यक्तिहरूलाई नेपाल प्रवेश गर्न दिइन्छ। सशस्त्र प्रहरी बलको निर्देशनअनुसार सीमाबाट हुने सम्भावित अपराध नियन्त्रण गर्न ती कुकुरहरू खटाइएको हो।

‘डेजी’ जर्मन सेफर्ड प्रजातिको कुकुर हो, जसलाई तीन महिनाको हुँदा भारतबाट ल्याइएको थियो र यो हातहतियार तथा विष्फोटक पदार्थ सुँघेर पत्ता लगाउन सक्षम छ। ‘साया’ भने नेपालमै जन्मिएको ल्याब्राडोर प्रजातिको कुकुर हो, जसले लागुऔषध सम्बन्धी वस्तुहरू पहिचान गर्न विशेष दक्षता हासिल गरेको छ।

सीमा सुरक्षा कडाइ र समन्वय

विगत केही समययता क्षेत्रीय सुरक्षा अवस्था चनाखो रहेकाले सशस्त्र प्रहरी बल, नेपालले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ। भारतीय सशस्त्र सीमा बल (SSB) सँग समन्वय गर्दै नेपाल प्रहरीले संयुक्त गस्ती तथा सूचना आदानप्रदानलाई सशक्त बनाएको छ।

सशस्त्र प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता शैलेन्द्र थापाका अनुसार, एक सीमा चौकी (BOP) बाट अर्को चौकीसम्म २४ घण्टा निरन्तर गस्ती भइरहेको छ। अवैध घुसपैठ रोक्न सबै बाहिनीपतिलाई विशेष निर्देशन दिइएको छ र तिनका आधारमा सुरक्षा योजना बनाई कार्यान्वयन भइरहेको छ।

सिमा क्षेत्र हुँदै आउने–जाने व्यक्तिहरूको परिचयपत्र जाँच गरी अभिलेख राख्ने, सूक्ष्म निगरानी र समाचार सङ्कलनका गतिविधि पनि नियमित रुपमा भइरहेका छन्। साथै, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणसँग समन्वय गर्दै सीमामा आवतजावत गर्नेहरूमाथि कडा निगरानी गरिँदैछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button