चीनबाट ल्याएको ४४ लाख डोज खोप ४ असोजदेखि लगाइने
काठमाडौँ । चीनबाट खरिद गरिएको ४४ लाख कोभिड–१९ विरूद्धको भेरोसेल खोप आज काठमाडौँ आइपुगेको छ । नेपाल एयरलाइन्सको जहाजले आज चीनबाट ४४ लाख डोज खोप ल्याएको हो । खोप लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज बिहीबार बेइजिङ प्रस्थान गरेको थियो ।
निगमको वाइडबडी—३३० जहाज बिहीबार खोप लिन नेपालबाट बेइजिङ गएको थियो। सरकारले चीनबाट पछिल्लो समय खरिद गरेको ६० लाख डोज भेरोसेल खोपमध्ये १६ लाख मात्र आएको थियो।
यो समेत गरी नेपालमा अहिलेसम्म अहिलेसम्म एक करोड ३३ लाख खोप आइसकेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क रहेको छ । जसमध्ये ५० लाख डोज खोप सरकारले खरिद गरेको हो भने बाँकी खोप विभिन्न देशबाट अनुदानमा आएको हो।
सरकारले चीनबाट ल्याएको खोप ४ असोजबाट लगाउने भएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठका अनुसार १८ वर्षमाथि उमेर समूहका नागरिकलाई खोप लगाइने छ ।


