पहिरोले हेलम्बु राजमार्ग अवरुद्ध

सिन्धुपाल्चोक । गएरातिदेखिको अविरल वर्षाले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १२ र १३ का विभिन्न ठाउँमा पहिरो गएको छ । पहिरोले हेलम्बु राजमार्ग अवरुद्ध भएको छ ।
मेलम्ची–१२ बाहुनेपाटी र १३ मेलम्ची–जिरोकिलो सडकखण्डस्थित फटकशिलामा गए रातिदेखि निरन्तर पहिरो खसिरहेकाले सडक अवरुद्ध भएको हो ।
सिन्धुखोलामा विद्युत्को पोल ढल्दा मेलम्ची बजारलगायत क्षेत्रमा विद्युत् सेवासमेत अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिए ।
वर्षा रोकिएपछि मात्र पहिरो पन्छाएर सडक खु्लाउन सकिने प्रहरीले जनाएको छ । अवस्था निकै जोखिमपूर्ण रहेको भन्दै वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।



