कांग्रेसको वडा अधिवेशन ३५ जिल्लामा सम्पन्न

काठमाडौं- नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शुक्रबारदेखि प्रारम्भ भएको गाउँ/नगर वडाअधिवेशन ३५ जिल्लामा सम्पन्न भएको छ।

कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लामध्ये ती जिल्लामा वडाअधिवेशन सम्पन्न भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

अधिकांश वडामा सर्वसम्मत केहीमा मतदानमार्फत वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। अधिवेशन भएका वडाको मत परिणाम केन्द्रमा शनिबारसम्म आइपुग्ने समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिए।

५६ जिल्लामध्ये अधिवेशन हुन बाँकी जिल्लामा वडाअधिवेशन शनिबारदेखि भदौ २३ गतेसम्म सम्पन्न हुने उनले बताए। यस बाहेक क्रियाशील सदस्यता नामावली प्रकाशन हुन बाँकी २१ जिल्लाको नामावली भने क्रमशःप्रकाशित हुँदै जाने र यही भदौ २७ गते निर्धारित गाउँ/नगरपालिका अधिवेशनसम्म सबै वडाको अधिवेशन सम्पन्न हुने पार्टी कार्यालयले जनाएको छ।

करिब नौ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ/नगर वडाअधिवेशनका मतदाता हुन्। क्रियाशील सदस्यले आफने वडाको वडासमिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्छन । वडाअधिवेशनले आफूमध्येबाट सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुईगरी सात पदाधिकारी निर्वाचित गर्ने कांग्रेसको विधानमा व्यवस्था छ। यसबाहेक वडाअधिवेशनमा मतदाता सङ्ख्याको अनुपातका आधारमा वडासदस्य र क्षेत्रीय प्रतिनिधि पनि निर्वाचित हुन्छन्।

महाधिवेशनअन्तर्गत गाउँ/नगरवडा अधिवेशन आज भदौ १८ गते, गाउँ/नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकिएको छ। यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button