बाढीपहिरोका कारण रु १७ अर्बभन्दा बढीको क्षति,बाढीका कारण सबैभन्दा बढी समस्यामा विपी राजमार्ग

काठमाडौँ-  प्राकृतिक विपत्तिहरूले कसरी पीडा र दुःख दिँदैन भन्ने कुरा हामीले हालैको असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरोबाट स्पष्ट देख्यौं। यस घटनाले किसानको पाक्न लागेको धानको बाली, र वर्षभरि खाने तरकारीलाई पूर्ण रूपमा नष्ट गरिदियो।

सामान्य रूपमा यात्रा गर्न सकिने राजमार्गहरू क्षतिग्रस्त भए, बस्तिहरू बगाइएका थिए, र थातथलो हराइरहेका थिए। यस घटनामा पशुचौपायाले पनि अकालमा ज्यान गुमाउनु परेको छ। बाढीको प्रभावले धेरै व्यक्तिहरूको लगानी एकै क्षणमा नष्ट गरिदियो।

नेपाली समाजमा एक भनाइ छ, “विपत्ति बाजा बजाएर आउँदैन,” तर यो पटकको बाढी र पहिरो नेपालीहरूको लागि एकदमै विनाशकारी साबित भएको छ। चाडपर्वको समयमा क्षतिग्रस्त भएको विपी राजमार्ग कहिले पुनः सञ्चालनमा आउने हो, भन्ने कुरा अनिश्चित छ। पृथ्वी र त्रिभुवन राजमार्गको अवस्था पनि उस्तै छ।

काठमाडौंको खाद्यान्न गोदामका रूपमा चिनिने कालीमाटी र बल्खु बजार भने अझै नियमित सञ्चालनमा आउन सकेको छैन। राजमार्गमा सवारी नचल्दा भोकै यात्रुहरू पैदल यात्रा गर्न बाध्य भइरहेका छन्। जल तथा मौसम विज्ञान विभागले जानकारी गराए पनि धेरै नागरिकहरूले अकालमा ज्यान गुमाउनु परेको छ।

काठमाडौँको बल्खु, नख्खु, बाग्मतीको किनार र भक्तपुरको हनुमन्ते जस्ता नदी र खोलाका किनारहरू पूर्ववत् अवस्थामा फर्कन अझै धेरै समय लाग्ने निश्चित छ। प्रारम्भिक विवरणअनुसार, बाढी र पहिरोका कारण १७ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ, र यो विवरण सङ्कलन भइरहेका कारण अझै बढ्न सक्ने सम्भावना रहेको छ।

सरकारका मुख्य सचिव एकनारायण अर्यालका अनुसार, बाढी, पहिरो र डुबानले २१ जिल्ला प्रभावित भएका छन्। विशेषगरी काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्लामा धेरै क्षति पुगेको छ।

कुलेखानी जलाशयको पानी खोल्दा आएको बाढीले मकवानपुरको इन्द्रसरोवर–३ मा रहेको वत्सलादेवी माविमा अध्ययनरत छ जना विद्यार्थीको ज्यान लियो। पहिरोले मकवानपुरका तीन र अन्य जिल्लाका तीन बालकको मृत्यु भएको छ।

बाढीका कारण सबैभन्दा बढी समस्यामा विपी राजमार्ग परेको छ। रोशी खोला किनारका बस्तिहरू अत्यधिक क्षतिग्रस्त भएका छन्। हालसम्मको विवरणअनुसार, बाढी र पहिरोबाट सडक र पुलमा २ अर्ब ५२ करोड रुपैयाँको क्षति भएको छ। बाढीले पाँच वटा पक्की पुल र दुई वटा बेलिब्रिजमा क्षति पुर्याएको छ।

हालसम्म २२४ जनाको निधन भएको र २४ जना बेपत्ता रहेका छन्। १५८ जना घाइते भएका छन्। उच्च जोखिममा रहेका ४,३३१ जनालाई उद्धार गरेर सुरक्षित स्थानमा पठाइएको मुख्य सचिव अर्यालको भनाइ छ।

कृषि क्षेत्रमा करिब ६ अर्बभन्दा बढीको क्षति भएको प्रारम्भिक तथ्याङ्क छ। ५८,४७६ हेक्टरमा लगाइएको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको धानबाली नष्ट भएको छ। किसानका २६,२०५ पशुपन्छीलाई पनि क्षति पुगेको छ।

भौतिक क्षतिको तर्फ खानेपानी संरचनामा ३ अर्ब ५५ करोड, सडक पूर्वाधारमा २ अर्ब ५२ करोड, ऊर्जामा ४ अर्ब र जलस्रोत तथा सिँचाइमा १ अर्ब ३५ करोड रुपैयाँ बराबरको क्षति भएको छ। बाढी र पहिरोले ३७ वटा राजमार्ग अवरुद्ध गरेका छन्, जसमा ९ वटा सञ्चालनमा आएका छन्। त्यस्तै, ३६ निर्माणाधीन जलविद्युत् आयोजनामा पनि क्षति पुगेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार, अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण सडक विभागअन्तर्गत २२ किलोमिटर सडक पूर्ण रूपमा क्षति भएको छ। यसमा सडकमा १ अर्ब ५० करोड ५० लाख, पुलमा ८२ करोड, र बेलिब्रिजमा २० करोडको क्षति भएको प्रारम्भिक विवरण छ। १४ वटा सडकको ४२ स्थानमा बाढी र पहिरोले क्षति पुर्याएको मन्त्रालयको जानकारी छ।

बाढी र पहिरोका कारण अरनिको, विपी, कान्ति, मदन भण्डारी, पुष्पलाल मध्यपहाडी, मेची, मदन भण्डारी, र कालिगण्डकी कोरिडोरमा क्षति पुगेको छ। सुनकोशी पुल, खुर्कोट, सिन्धुरेटार र फोक्सीङटारको पुल पूर्ण रूपमा क्षति भएको छ।

अरनिको राजमार्ग अन्तर्गत लिपिङ पुल र इलामको माई पोखरी सडकको राते पुल बाढीले बगाउँदा यातायातमा असुविधा उत्पन्न भएको छ। लार्चा र हेवा खोला स्थित बेलिब्रिज पनि बाढीले बगाएको छ। ऊर्जा र जलस्रोततर्फ समग्रमा ४ अर्ब ३५ करोड रुपैयाँको क्षति भएको छ।

नदी नियन्त्रणका लागि बनाइएका तटबन्धमा १ अर्ब १६ करोड २० लाख रुपैयाँको क्षति पुगेको छ। राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन आयोजनाको बाँधस्थलमा निर्माणाधिन ‘कफर ड्याम’ पानीमुनि परेको छ। जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जिव बरालका अनुसार क्षतिको मूल्याङ्कन भइरहेको छ।

खानेपानी आयोजनामा ३ अर्ब ५५ करोड ७० लाख रुपैयाँको क्षति पुगेको छ। नेपाल खानेपानी निगम, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र खानेपानी मन्त्रालय अन्तर्गत साना तथा ठूला आयोजनामा बाढीले समस्या पैदा गरेको छ। काभ्रेपलाञ्चोक, भक्तपुर र रामेछापका खानेपानी आयोजनामा पनि क्षति पुगेको छ। कुल ६६ जिल्लाका खानेपानी आयोजनामा क्षति भएको छ।

अविरल वर्षापछि आएको बाढी र पहिरोले खानेपानीको पाइपलाइन, बोरिङ प्रशोधन केन्द्र, र ट्याङ्कीलगायतका संरचनामा क्षति पुगेको छ।

सरकारले खोज र उद्धारमा ३०,७३१ सुरक्षाकर्मीलाई परिचालन गरेको जनाएको छ। बाढी र पहिरोमा परी मृत्यु भएका र बेपत्ता भएका नागरिकका परिवारलाई राहत वितरण सुरु भएको बताइएको छ।

बाढी र पहिरोबाट अवरुद्ध भएका सडकलाई छिटो सञ्चालनमा ल्याउने, पहिरोबाट अवरुद्ध सडक खोल्ने, बेलिब्रिज जडान गर्ने र सम्भाव्यताका आधारमा कजवे र डाइभर्सन जस्ता वैकल्पिक माध्यमबाट सडक सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

विपद्लाई बहाना बनाएर आवश्यक वस्तुको कृत्रिम अभाव, मूल्यवृद्धि, र कालोबजारी नियन्त्रणका लागि सरकारले कडा नीति लागू गर्ने स्पष्ट पारिसकेको छ। विभिन्न स्थानमा अवरुद्ध टेलिफोन र विद्युत् सेवाहरूलाई नियमित गराउन आवश्यक जनशक्ति परिचालन गरेर पुनःनिर्माण र पुनःस्थापनाको काम भइरहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button