संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री

काठमाडौँ-  प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनमार्फत देखिएका राजनीतिक अस्थिरतालाई सम्बोधन गर्न सकिने बताउनुभएको छ। संविधान दिवस २०८१ तथा राष्ट्रिय दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सम्बोधन गर्दै उहाँले संसदमा रहेका सबै दलको सहमतिमा संविधान संशोधन अघि बढाउने विश्वास व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो, “संशोधन प्रक्रियामा केवल संसदको गणितीय संख्या मात्र होइन, सबै दलको सहमति प्राप्त गर्न अधिकतम प्रयास हुनेछ। संविधानलाई समयसापेक्ष बनाउन आवश्यक प्रावधान परिमार्जन वा परिवर्तन गरिनेछ।”

प्रधानमन्त्री ओलीले अहिलेको लडाई प्राप्त अधिकारको रक्षा र कार्यान्वयनको भएको उल्लेख गर्दै राजनीतिक स्थिरता, नीतिगत स्थायित्व र समृद्धिका लागि सबै पक्षको प्रतिबद्धता आवश्यक भएको बताउनुभयो।

उहाँले युवाहरूलाई देशभित्रै रोजगारीको सुनिश्चितता, श्रमिकले मर्यादित कामको विश्वास, सबै नागरिकलाई समान स्वास्थ्य पहुँच, र गरिबीको अन्त्यका लागि सरकार लागिपरेको बताउनुभयो। बालबालिका विद्यालयमा, किसानले कृषि उपजको उचित मूल्य पाउने वातावरण बनाउन सरकार सचेततापूर्वक अघि बढिरहेको स्पष्ट पार्नुभयो।

मौलिक हकको कार्यान्वयनका लागि आवश्यक योजना निर्माण गर्दै सरकार आर्थिक स्रोत जुटाउन केन्द्रित भएको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो। संविधानले जनताको हितका लागि मौलिक हकको प्रत्याभूति गरेको र गरिबीको दुष्चक्रबाट सबै नागरिकलाई मुक्त गराउन सरकार क्रियाशील रहेको उहाँले बताउनुभयो।

उहाँले “समतामूलक समाज निर्माणबाटमात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा हुनेछ” भन्दै विकासको समावेशी ढाँचामा काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। संविधानले सबैलाई समान प्रतिस्पर्धा र अवसरको वातावरण दिएको, कानुनी राज्य, पारदर्शिता र उत्तरदायित्वलाई नेपालको लोकतन्त्रको महत्वपूर्ण सर्त भएको उहाँले बताउनुभयो।

प्रधानमन्त्री ओलीले संविधान हाम्रो सामूहिक इच्छा र साझा दृष्टिकोणको प्रतिबिम्ब भएको भन्दै “संविधानमा सबै नेपालीको आवाज गुञ्जिएको छ” भन्नुभयो। उहाँले संविधानको प्रभावकारी कार्यान्वयन र राष्ट्रिय एकताका लागि सबैलाई समेटेर अगाडि बढ्न आग्रह गर्नुभयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button