राजनीतिक परिस्थितिलाई बलियो बनाउन समिति सभापतिमा राप्रपालाई : माधव सापकोटा

काठमाडौं – नेकपा (माओवादी केन्द्र) माधव सापकोटाले राजनीतिक परिस्थितिलाई बलियो बनाउन समिति सभापतिमा राप्रपालाई सहयोग गरेको बताएका छन् ।
आईतवार पूर्वाधार विकास समितिको सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपकबहादुर सिंहलाई समर्थन गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रदेश र संघमा पनि स्थिरताका लागि योगदान गर्ने मौखिक सहमति भएपछि राप्रपालाई सहयोग गरेको बताए । उनले राजनीतिलाई स्थिरता दिन र बलियो एकताको स्थिति बनाउन समर्थन गरेको बताए ।
उनले भने, ‘समग्र राजनीतिक परिस्थितिलाई बलियो बनाउने, अहिले अस्थिरता सिर्जना भइरहेको छ, यी सबैकुरालाई स्थिर बनाउने र असमझदारी हटाउँदै बलियो एकताको स्थिति बनोस् भनेरै यो समझदारी गरिएको छ । उहाँहरुले प्रदेश र संघमा पनि स्थिरताका लागि योगदान गर्नुहुनेछ ।’
माओवादी नेताहरु भने राप्रपासँगको सहमति यतिमा मात्र सीमित नभएको बताउँछन् । उनीहरुका अनुसार राप्रपाले तत्काल कोशी प्रदेशमा सत्ता गठबन्धनलाई सघाउने छ । एक नेता भन्छन्, ‘कोशीमा सभामुख र एउटा मन्त्री लिने सहमति भएको छ ।’




