सरकारले प्रभावकारी ढङ्गले काम गर्न सकेन : कृष्ण सिटौला

काठमाडौँ – सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले प्रभावकारी ढङ्गले काम गर्न नसकेको बताएका छन् ।

सरकार, संसद, न्यायालय, संवैधानिक निकाय, प्रहरी प्रशासनलगायतका राज्य व्यवस्थाको समग्र मूल्याङ्कन गर्ने हो भने संविधानले परिकल्पना गरे अनुसार प्रभावकारी र निष्पक्ष ढङ्गले काम गर्न नसकेको पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता सिटौलाको भनाई थियो ।

शुक्रवार काठमाडौँमा आयोजित ‘राजनीतिक उपलब्धि र आजको चुनौती विषयक विचार गोष्ठी’ मा बोल्दै उनले राज्यका सबै निकायलाई ठिक ढङ्गले अघि बढाउनका लागि नेपाली काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने पनि बताए ।

नेता सिटौलाले काँग्रेसको आगामी मङ्सिरमा हुने नीति महाधिवेशनले मुलुकलाई अघि बढाउनका लागि ठोस योजना तय गर्ने दाबी समेत गरे । नेता सिटौलाले मुलुकमा एकपछि अर्को सङ्कट बढ्दै गइरहेको उल्लेख गर्दै त्यसबाट मुक्त हुनका लागि सबै राष्ट्रसँग सन्तुलित सम्बन्ध राखेर अघि बढ्नुपर्ने बताए ।

उनले अमेरिका, युक्रेन, रुस, इजरायललगायतका घटनाक्रमले नेपालमा एकपछि अर्को सङ्कट देखिएकाले त्यसबाट राष्ट्र र जनतालाई मुक्त गराउन सरकार, संसद, संवैधानिकले अत्यन्तै सचेत भएर काम गर्नुपर्ने आवश्यकता पनि औँल्याए । नेता सिटौलाले मुलुकको अर्थतन्त्र सुधारका लागि पनि सरकारले विशेष कदम चाल्नुपर्ने बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button