देशभर सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइदै

काठमाडौं – देशभर सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइदै छ। आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ।

छठ पर्वका व्रर्तालु हिजोदेखि रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन्। छठका लागि तराईका नदी, खोला, पोखरी सिँगारिएका छन्। काठमाडौंको गुह्येश्वरीदेखि गौरीघाटमा पूजा आराधनाको व्यवस्था गरिएको छ।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ।

छठको दोस्रो दिन शनिबार खरना विधि सम्पन्न भएको छ। चार दिनसम्म मनाइने आस्थाको पर्व छठको दोस्रो दिन बर्तालुले इष्टदेवको पूजाआराधना गरी खरना विधि सम्पन्न गरेका हुन्। व्रर्तालुले माटोको नयाँ चुलो र माटोकै नयाँ भाँडोमा सक्खर, दूध र चामलबाट बनेको खीर खरनामा नैवेदको रुपमा चढाउनुपर्ने हुन्छ।

खरनामा छठपर्वको मुख्य दिन चढाउने अघ्र्य जति स्थानमा केराको पातमाथि नैवेद चढाउनुपर्ने हुन्छ। खरनामा नैवेदमा खीर, दूध, केरा, मूला, अदुवा, पान र सुपारी राखिन्छ। नैवेदलाई केराको पातमा राखेर छठीमातालाई चढाइन्छ। नैवेदलाई उत्सर्ग गरिसकेपछि बर्तालु र परिवारजनले प्रसाद ग्रहण गर्ने गर्छन्। यसरी खरना विधि सम्पन्न हुन्छ।

बिहानदेखि उपवास बसी खरना विधि गरेर भगवानलाई चढाइएको खिर खाएपछि अब एकपल्ट चौथो दिन उदयमान सूर्यको पूजा गरी अर्घ्य दिएपछि मात्र भोजन गर्नुपर्ने हुन्छ। यस अवधिमा व्रर्तालु पानी खाँदैनन्।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने यो पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासना गर्ने गरिन्छ। यस पर्वको पहिलो दिन नुहाएर चोखो भइ खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदै गरेको र चौथो दिन उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि विधिपूर्वक पर्व समापन हुनेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button