अध्यादेश र निर्वाचन आयोगविरुद्ध एमाले सर्वोच्चमा जाने

काठमाडौं– नेकपा एमालेले निर्वाचन आयोग र राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न ल्याइएको अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्ने भएको छ।
बिहीबार बसेको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सचिव प्रदीप ज्ञवालीले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न ल्याइएको अध्यादेशविरुद्ध र पार्टीले निष्कासन गरिसकेका व्यक्तिलाई निर्वाचन आयोगले नयाँ दल दर्ताका लागि सनाखतमा समावेश गराएको भन्दै आयोगको उक्त निर्णयविरुद्ध यी २ वटा विषयमा सर्वोच्च अदालत जाने निर्णय भएको जानकारी दिए।
केन्द्रीय कमिटिको बैठकले अलग दल (नेकपा एकीकृत समाजवादी) दर्ता गरेकालाई निष्कासन गरी निर्वाचन आयोगलाई जानकारी दिने निर्णय गरेको छ। कसैले भुल महसुस गरेर निर्णय सच्याउन चाहेमा ‘ढोका खुलै राख्ने’ निर्णय भएको पनि ज्ञवालीले जानकारी दिए।
‘निर्वाचन आयोगबाट केही विवादास्पद निर्णय भएको छ। कारबाही गरिएका व्यक्ति र अनुपस्थित भएका व्यक्तिलाई सनाखत गराउने कार्य भएको छ,’ उनले भने, ‘यसको कानुनी प्रतिवाद गर्ने छौं।’


