सभ्य‚ सुसंस्कृत र प्रगतिशील समाजलाई एकताको सूत्रमा बाँध्न सकोसः राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले आज एक शुभकामना सन्देश दिंदै विश्वभर हिन्दू धर्मावलम्बीहरूले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक यो पर्व मनाउने गरेको स्मरण गरेकी छन्।

यस पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई भावनात्मक एकताको सूत्रमा आवद्ध गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुर्‍याउने अपेक्षा राष्ट्रपति भण्डारीले गरेकी छन । शुभकामना सन्देशमा भनिएको छ, “श्रीकृष्ण जन्माष्टमी पर्वले सम्पूर्ण नेपालीहरूमा आपसी सद्‍भाव र मैत्री भावना अभिवृद्धि गर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु । साथै कोभिड(१९ को संक्रमणबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्दै सावधानीका साथ यो पर्व मनाउनु हुनेछ भन्ने आशा लिएको छु ।”

त्यसैगरी भाद्र शुक्ल पञ्चमीका दिनदेखि अष्टमीसम्म नेपालको सुदुरपश्चिम क्षेत्रमा विशेष रूपमा मनाइने गौरा पर्वको अवसरमा पनि राष्ट्रपति भण्डारीले शुभकामना ब्यक्त गरेकी छन ।

यस सांस्कृतिक चाड गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षणमा थप योगदान गर्दै सम्पूर्ण नेपालीहरूमा आपसी समझदारी एवं भाइचाराको भावना अभिवृद्धि गर्दै सभ्य‚ सुसंस्कृत र प्रगतिशील समाजको निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा मिलोस् भन्दै राष्ट्रपति भण्डारीले शुभकामना ब्यक्त गरेकी छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button