देशभर भारी वर्षाको सम्भावना

काठमाडौं –जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार पूर्वबाट पश्चिम-दक्षिण पश्चिमतिर सर्दै गएको पानी पार्ने प्रणाली सुदूरपश्चिममा बढी केन्द्रित भएकाले अति भारी वर्षाको प्रक्षेपण गरिएको हो ।
आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै र मधेश प्रदेशको एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।
मौसमविद गोविन्द झाले आज राति सुदूरपश्चिमको पहाडी र तराई क्षेत्रका एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको बताए । अहिले नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) छ । साथै भारतको उत्तर पूर्वी उत्तरप्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव छ । यसको प्रभाव सोमबारसम्म कायम रहने र त्यसपछि क्रमिक सुधार हुने देखिएको मौसमविद झाले जानकारी दिए ।




