रास्वपा सभापति लामिछानेसहित प्रतिवादीहरुको थुनचेक बहस जारी

गण्डकी- पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित सातजना प्रतिवादीमाथिको थुनछेक बहस जिल्ला अदालत कास्कीमा जारी छ।

जिल्ला न्यायाधिवक्ता कमला काफ्लेका अनुसार मंगलबार र बुधबार सरकारी वकिलहरूको तर्फबाट बहस सकिएपछि बिहीबारदेखि जाहेरवालाको पक्षमा सहकारी पीडितका कानुन व्यवसायीहरूले बहस सुरु गर्नेछन्।

मंगलबार प्रतिवादीहरूको बयानपछि जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा थुनछेक बहस सुरु भएको थियो। बुधबारको बहसमा महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्ता सञ्जिवराज रेग्मी, उपन्यायाधिवक्ता प्रकाश गौतम, जिल्ला न्यायाधिवक्ता काफ्ले, सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्मा, र विपिनराज तिवारीले बहस गरेका थिए।

जाहेरवालाको तर्फबाट बहस सकिएपछि प्रतिवादी पक्षका कानुन व्यवसायीहरूले आफ्नो तर्क प्रस्तुत गर्नेछन्। प्रतिवादी पक्षको बहसपछि पुनः सरकारी वकिलहरूले जवाफी बहस गर्ने प्रक्रिया हुनेछ।

थुनछेक बहसपछि अदालतले प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने वा थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने निर्णय गर्नेछ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सभापति लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लीला पछाई, कृष्णबहादुर गुरुङ, र रामबहादुर खनाललगायत थुप्रै व्यक्तिहरू प्रतिवादी छन्। सहकारीको रकम अपचलनको आरोपमा पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

सभापति लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धिकरणका कसुरमा समेत मुद्दा चलाइएको छ। हालसम्म सूर्यदर्शन सहकारी प्रकरणमा ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ।

संगठित अपराधअन्तर्गत लामिछानेसहित १९ जनाविरुद्ध मुद्दा दायर भएको छ भने लामिछाने, खनाल, जोशी र पछाईमाथि सम्पत्ति शुद्धिकरणका मुद्दा पनि दायर छन्। सहकारी ठगीका अन्य आरोपितहरूविरुद्ध पनि कसुरअनुसार बिगो र सजायको माग गरिएको छ।

सूर्यदर्शन सहकारीको बचत रकम अपचलनको आरोपमा सभापति लामिछाने कात्तिक २ गते काठमाडौँमा पक्राउ परेका थिए। उनलाई कास्कीसहित अन्य जिल्लामा पनि सहकारी ठगी प्रकरणमा अनुसन्धान भइरहेको छ।

सभापति लामिछानेमाथि सहकारी सञ्चालक र प्रबन्ध निर्देशकको हैसियतमा बचत रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोप छ। पूर्वडीआईजी जोशीलाई असोज ६ गते पक्राउ गरेर हिरासतमा राखिएको छ।

यसैबीच, ठगी प्रकरणका मुख्य योजनाकार जीबी राईलगायत केही आरोपीहरू अझै फरार छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button