बजेटको आकार घटाउन अनावश्यक कार्यक्रम रोकिएको होः अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पूर्व सरकारले अघि बढाएको केही कार्यक्रम अनावश्यक भएकाले रोकिएको स्पष्ट पार्नुभएको छ । आइतबार बजेटका बिषयमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री शर्माले बजेटको आकार घटाउन र राज्यको दायित्व पूरा गर्न अनावश्यक कार्यक्रम रोकिएको प्रष्ट पार्नुभएको हो ।
उनले आवश्यकताका केही कार्यक्रम बाहेक पुरानै बजेटको कार्यक्रम निरन्तरता दिएको तथा स्वदेशी उद्योगलाई संरक्षण गर्नेगरी केही करको दर हेरफेर गरेको जानकारी दिए । बजेट बितरणमुखी भएको भन्ने आरोपको खण्डन गर्दै अर्थमन्त्री शर्माले राज्यको दायित्व पूरा गर्दै दीर्घरोगी तथा राजनीतिक आन्दोलनका योद्धाहरुलाई सहयोग गर्न मात्र खोजेको तर्क गरे । अब हरेक महिना १० प्रतिशत पुँजीगत खर्च गर्ने भन्दै उनले पुँजीगत खर्चको अनुगमन गर्न संयन्त्र बनाउने उनको भनाई थियो ।
लोड व्यवस्थापनका लागि अर्धजलाशय र जलाशययुक्त आयोजना नै आजको आवश्यकता भएकाले सरकारले यस्ता आयोजनामा कर छुट दिएर बिदेशी लगानी आकर्षित गर्ने खोजेको मन्त्री शर्माको धारणा थियो । उनले भने, ‘आर्थिक गतिविधिलाई चलायमान बनाउँदै आर्थिक वृद्धिदरलाई ७ प्रतिशतमा पुर्याउने, करको दायरालाई पनि विस्तार गर्ने, देशमा उत्पादनमुलक कार्य गर्नका लागि उद्योग सञ्चालन गर्नका लागि कच्चा पदार्थमा आधारित उद्योगहरु गर्नका लागि छुटहरु दिनेछौं ।’
अर्थमन्त्री शर्माले सरकारले अब बिद्युतीय सवारी साधनलाई नै प्राथमिकता दिएको र अब देशभित्रै विद्युतीय सवारी उत्पादन गर्ने उद्योग स्थापना गर्नुपर्ने बताए । शेयर बजारका बिषयमा उनले ४२ लाख जनताको लगानीको रक्षा गर्नुपर्ने अवस्था रहेको बताउँदै यस विषयमा आफूहरु गम्भीर रहेको धारणा राखे । अर्थमन्त्री शर्माले शुक्रबार १६ खर्ब ३२ अर्ब ८३ करोड रूपैयाँ बराबरको संशोधन बजेट प्रतिनिधिसभा बैठकमा पेश गरेका थिए ।



