प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक असोज १४ गते

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूको नाराबाजीले निरन्तरता पाइरहेको छ।

गत २३ भदौबाट सुरु भएको एमाले सांसदहरूको नाराबाजीले सोमबार बसेको बैठकसम्म निरन्तरता पाइसकेको छ। तर, सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएर आर्थिक वर्ष २०७८/७९को बजेट ल्याउँदा ल्याइएको अध्यादेश प्रतिस्थापन गर्न पेस गरिएको विधेयक पारित गराएका छन्।

सुरुवाती बैठकमा आक्रमक रूपमा प्रस्तुत भएको एमाले सांसदहरू पछिल्लो समय नाराबाजीमा मात्र सीमित भए। तर, उनीहरूको नाराबाजीलाई बेवास्ता गर्दै सभामुखले कार्यसूचीअनुसार बैठक चलाए।

सोमबार पनि एमाले सांसदहरूको नाराबाजी भइरहँदा बैठकमा राष्ट्रपति कार्यालयबाट विधेयक प्रमाणीकरण सम्बन्धी प्राप्त पत्रको व्यहोरा पढेर सुनाइएको थियो भने प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराएका थिए।

प्रतिनिधिसभाले पारित गरेर राष्ट्रिय सभामा पठाइएको उक्त विधेयक राष्ट्रियसभाले पनि पारित गरेको हो। अब सो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्याय पठाइनेछ।

यसअघि दुवै सदनले पारित गरेको विनियोजन विधेयक २०७८लाई राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको छ। यसपछि बैठक स्थगित गर्दै सभामुख सापकोटाले भने, ‘प्रतिनिधिसभाको अर्को बैठक २०७८ साल असोज १४ गते बिहीबार दिउँसो १ बजे बस्नेछ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button