रामचन्द्र पौडेल बने देशको अभिभावक

कांग्रेस केन्द्रीय महामन्त्री (२०६२-२०६४), कांगेस केन्द्रीय उपसभापति (२०६४–२०७२), कांग्रेस संसदीय दलको नेता (२०६४–२०७०) भएका पौडेल २०७२ सालमा कांग्रेसको केन्द्रीय कार्यवाहक सभापति भएका थिए ।
२०४८ सालमा तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए भने त्यसपछि तनहुँ क्षेत्र नं २ बाट २०५१, २०५६, २०६४, २०७० मा लगातार प्रतिनिधिसभा निर्वाचन र संविधानसभा निर्वाचनमा निर्वाचित भएका थिए। गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी तनहुँ क्षेत्र नं १ बाट निर्वाचित भएका हुन् ।
निर्वाचनपछि पहिलोपटक २०४८ सालमा स्थानीय विकासमन्त्री, विसं २०४९ मा कृषिमन्त्री भएका उनी २०५१ पुस २ गते प्रतिनिधिसभाको सभामुख निर्वाचित भएका थिए । पौडेल २०५६ साल र त्यसपछि उपप्रधान तथा सूचना-सञ्चार मन्त्री, स्थानीय विकासमन्त्री, उपप्रधान तथा गृहमन्त्री हुनुका साथै शान्ति समितिको संयोजक (२०६१–२०६२), शान्ति तथा पुनःनिर्माणमन्त्री (२०६३-२०६४), कांग्रेस संसदीय दलको नेता तथा संसद्मा प्रमुख प्रतिपक्षी दलको नेता ९२०६४-२०७०० को जिम्मेवारी सम्हालेका थिए ।
कांग्रेसभित्र समन्वयकारी, मध्यमार्गी नेताका रूपमा परिचित उनले पार्टीका तत्कालीन सभापति बिपी कोइराला, पार्टीका सर्वमान्य नेता गणेशमान सिंह, पार्टीका संस्थापक कृष्णप्रसाद भट्टराई र पछि सभापति गिरिजाप्रसाद कोइराला र सिंह तथा भट्टराईबीचको विवाद तथा मनमुटाव मिलाउन सधैँ मध्यमार्गी र समन्वयकारी भूमिका निर्वाह गरेका थिए ।
यसैगरी सशस्त्र द्वन्द्वरत तत्कालीन माओवादीलाई मूलप्रवाहको राजनीतिमा ल्याउने ऐतिहासिक वार्ता र सहमतिका काममा अग्रणी भूमिका निर्वाह गरेका उनी विस्तृत शान्ति सम्झौताका मस्यौदाकार तथा सहमति र सहकार्यका पक्षपातीसमेत हुन् ।




