मिटरब्याज पीडित बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेट

काठमाडौँ – मिटरब्याज पीडितहरू कमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्।
मिटरब्याजीको विरोधमा तराई विभिन्न जिल्लाबाट ११ दिनसम्म हिँडेर गत आइतबार काठमाडौँ आएका उनीहरूलाई प्रधानमन्त्री प्रचण्डले एक सातापछि समस्या समाधानबारे छलफलका लागि बालुवाटार बोलाएका हुन् ।
यसअघि बालुवाटार जाने क्रममा उनीहरुलाई प्रहरीले टंगालमै रोकेपछि सडकमै धर्ना दिएका थिए । त्यसपछि सरकारले वार्ता समिति गठन गरेको थियो । मिटरब्याजको दीर्घकालीन समाधानका लागि विद्यमान कानुन अपर्याप्त भएको भन्दै प्रधानमन्त्री दाहालले कानुन निर्माणको काम अन्तिम चरणमा पुगेको बताए। “पीडितका समस्या समाधान गर्न न्यायिक अधिकारसम्पन्न उच्चस्तरीय आयोग गठनको प्रक्रियासमेत अघि बढेको छ”, उनले भने।
मिटरब्याज समस्यालाई लिएर मन्त्रिपरिषद् बैठकबाट नै एउटा उच्चस्तरीय आयोग बनाई तत्काल ‘फिल्ड’मा गएर कारबाही गर्नसक्ने तथा न्यायिक अधिकार प्रयोग गर्नसक्ने आयोग बनाइने प्रधानमन्त्री दाहालले उल्लेख गरेका छन्। “त्यो प्रक्रिया अघि बढिसकेको छ”, उनले भने, “यसअघि जस्तो आयोग बन्ने, प्रतिवेदन बुझाउने र त्यो थन्किने जस्तो होइन, यो आयोग ‘र्यापिड एक्सन फोर्स’ जस्तो गरेर जाओस्, त्यसले मान्छेलाई बोलाउने, पूर्जी काट्ने र कारबाही गर्ने खालको होस् भनेर निर्देशन दिएको छु।”
प्रधानमन्त्री दाहालसँग भेटका क्रममा पीडितहरूले उच्चस्तरीय आयोग गठन, कानुन निर्माण तथा पक्राउ पुर्जी जारी भएका र घरबार जफत भएका पीडितमाथि न्याय गर्न माग गरेका थिए।




