२४ वटै परीक्षण गरिएका नमूनामा ओमिक्रोन भेरियन्ट

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा मौसमी रुघा-खोकीका कारणले कोरोना भाइरस सङ्क्रमण बढिरहेको जनाएको छ ।
मन्त्रालयका सह-प्रवक्ता डा समीर कुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै छिमेकी मुलुकमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ देखिएकोले नेपालमा सङ्क्रमण बढिरहेको बताएका छन् ।
उनले सङ्क्रमण बढिरहेकाले रोकथाम र नियन्त्रणका लागि सबै तहबाट प्रभावकारी भूमिका निभाउन आग्रह गरेका छन्। उनले रोकथाम र नियन्त्रणका लागि जन-स्वास्थ्यका मापदण्डको पालना गर्न र गराउन सबै सरोकारवाला निकायलाई आग्रह गरेका छन् । उनका अनुसार यही चैत महिनामा २४ वटा नमूना परीक्षण गरिएकोमा २४ वटैमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार कोभिड–१९ मा हुने अणुवांशिक परिवर्तनको पहिचान राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको हो । सो अनुसार ओमिक्रोन विए १.१ दुई वटा, ओमिक्रोन विए दुई, ओमिक्रोन विए २.७६ एउटा, ओमिक्रोन विए ५ दुई वटा भेरियन्ट फेला परेका छन् ।
ओमिक्रोन विए ५.२ दुई, ओमिक्रोन एक्सविवि १।१६ दश वटा, ओमिक्रोन एक्सविवि १।५ तीन वटा, ओमिक्रोन एक्सविवि २।६ एउटा र ओमिक्रोन एक्सविएफ एउटा फेला परेका छन् । “कोभिड–१९ महामारी अझ पनि पूर्णरूपमा नियन्त्रणमा आइसकेको छैन । खोप, जनस्वास्थ्यका मापदण्ड लगायत बहु-क्षेत्रीय संयन्त्रको संयुक्त सहकार्यबाट यसको रोकथाम, नियन्त्रण तथा उपचारले जटिलता हुनबाट जोगाउने अवस्था रहेको छ”, मन्त्रालयका सह-प्रवक्ता डा अधिकारीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।




