मंसिर १० देखि महाधिवेशन गर्ने एमालेको निर्णय
यस्ता छन् एमालेको आज बसेको ऐतिहासिक स्थायी कमिटीको बैठकका निर्णयहरु
काठमाडौं । नेकपा एमालेले पार्टीको १० औं महाधिवेशन आगामी मंसिर १० देखि गर्ने निर्णय गरेको छ ।
प्रवक्ता प्रदीप कुमार ज्ञवालीका अनुसार मंगलबार तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठान च्यासलमा बसेको एमालेको स्थायी कमिटी बैठकले मंसिर १० देखि १२ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
यस्तै प्रवक्ता ज्ञवालीले एमालेले विधान अधिवेशन असोज ४, ५ र ६ गते गर्ने बताए । बैठकमा माधव नेपाल पक्षमा नलागेका स्थायी कमिटी सदस्यहरुको पनि सहभागिता रहेको थियो ।
यस्तै बैठकले पार्टी विवाद मिलाउन गठन भएको कार्यदलमा भएको १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ ।
यस्ता छन् एमालेको आज बसेको ऐतिहासिक स्थायी कमिटीको बैठकका निर्णयहरु:
नेकपा एमालेले केन्द्रीय कमिटी, जिल्ला कमिटी र सबै कमिटीलाई २०७५ जेठ २ गते अनुसार फर्काउने निर्णय गरेको छ ।
ललितपुरमा एकताका लागि भन्दै ‘तेस्रो धार’का रुपमा देखा परेका नेताहरुसहित बसेको एमालेको स्थायी कमिटी बैठकले १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गर्दै यसका लागि पार्टी संरचना २ जेठ २०७५ अगाडिको अवस्थामा क्रियाशील गराउने निर्णय गरेको हो ।
बैठकले केन्द्रीय कमिटीमा १० प्रतिशत मनोनयनका लागि कार्यदल समेत गठन गरिएको छ । कार्यदलमा महासचिव ईश्वर पोखरेलसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे तथा लेखराज भट्ट रहनुभएको छ ।
त्यसैगरी, बैठकले विधान अधिवेशन असोज ४ गतेदेखि देखि ६ गते काठमाडौंमा गर्ने र मंसिर १०, ११ र १२ गते राष्ट्रिय महाधिवेशन काठमााडौंमा गर्ने उहाले बताउनुभयो । त्यस्तै बिधान अधिवेशनका बारेमा छलफल गर्न पार्टीको स्थायी कमिटी बैठक भाद्र २५ र २६ गते र केन्द्रीय कमिटी २७ र २८ गते गरिने प्रवक्ता ज्ञवालीले बताउनुभयो । त्यस्तै, भदौ १६ देखि २० गतेसम्म जिल्ला कार्यकर्ता भेला गर्ने निर्णय पनि बैठकले गरिएको छ ।
त्यस्तै स्थायी कमिटी बैठकले पार्टी बिभाजनमा गएका माधव नेपाल लगायतका नेताहरूलाई ‘मूलघर’मा फर्किन आह्वान गरेको छ । प्रवक्ता ज्ञवालीले भने विभाजनका सबै गतिविधि परित्याग गरेर आउनेलाई कुनै कारबाही र भेदभाव नराखिने जानकारी दिए ।
बैठकले सदस्यता नवीकरण गर्दा २०७५ जेठ २ गतेको सदस्यतालाई आधार बनाउने र एकीकरणमा आवद्ध भएका र २०७५ जेठ ३ पछि सदस्यता प्रदान गरिएका पार्टी सदस्यहरुको सदस्यता समेत सम्बन्धित जिल्ला कमिटीले नवीकरण गर्ने निर्णय गरेको छ ।



