बालकुमारी घटनाप्रति मन्त्री ज्वालाले गरे दुःख व्यक्त,घटनाको छानबिन गर्न कांग्रेसको माग

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनाका विषयमा दुःख व्यक्त गरेका छन् ।
नेकपा एकीकृत समाजवादीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री ज्वालाले बालकुमारी क्षेत्रमा आफ्नो गाडीमा भएको आगजनी र मान्छेको ज्यान जानु र घाइतेसम्म भएको भन्दै दुःख व्यक्त गरेका हुन् । बालकुमारीमा भएको घटनाका सम्बन्धमा कुनै पूर्वजानकारी नरहेको र आफ्नो मन्त्रालयसँगको कुनै सरोकार समेत नरहेको पनि जिकिर गरे ।
मन्त्री ज्वालाले सरोकार क्षेत्र नै नभएको निकायको गाडी जलाउनु खेदजनक कुरा भएको बताए । घटनाका सम्बन्धमा आफू धेरै जानकार नरहेको र व्यक्तिगत रुपमा पनि कुनै सरोकार र सम्बन्धी केही नरहेको उनको भनाइ छ ।
यसैगरी बालकुमारी हिंसामा २ जनाको मृत्यु पछि सत्तारूढ नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ ।
सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा जारी बैठकमा पनि बालकुमारी घटनाबारे छलफल भएको थियो । कांग्रेसले घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ । सो घटनाको छानबिन गर्नुपर्ने कांग्रेसको माग छ ।
‘कोरियाली भाषा परिक्षा सम्बन्धी विषयलाई लिएर आज ललितपुरको बालकुमारीस्थित ईपीएस कार्यालयअगाडि भएको प्रदर्शनका क्रममा मन्त्री सवार गाडीमा आगजनी हुनु, तत्पश्चात प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा एक जनाको मृत्यु र केही व्यक्ति घाइते भएको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकृष्ट भएको छ,’ कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस उक्त घटनाप्रति दुःख व्यक्त गर्दछ ।’
कांग्रेसले घटनाको सत्यतथ्य अध्ययन गरी यथार्थ छानविन गर्नुका साथै घटनामा घाइते भएकाहरुको उचित उपचार गर्न र प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न सरकारसँग माग गरेको छ।
साथै, हरेक नागरिकले आफ्ना अधिकारको विषयलाई उठान गर्दा शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्वन गर्न प्रदर्शनकारीलाई आग्रह गर्दै सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित रहन अपिल समेत गरेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जनाएका छन् ।




