मधेस सरकारको नेतृत्व परिवर्तन गर्ने पक्षमा छैन

जनकपुर– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मधेस सरकारको नेतृत्व तत्काल परिवर्तन गर्ने पक्षमा सत्तारुढ गठबन्धन नरहेको जानकारी दिएका छन् । ‘मधेस सरकारको अहिले नेतृत्व परिवर्तन गर्ने पक्षमा सत्तारुढ गठबन्धन छैन, यही सरकारमा अन्य दललाई पनि समावेश गर्ने गरी अघि बढ्छौ’ उनले जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै भनेका छन् ।
सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा देश र जनताको समस्या समाधानका उपाय खोज्ने गरी ल्याइएको कार्यक्रमले जनताको समस्या समाधान गर्ने र प्रशंसा गर्न लायक भएको पनि बताएका छन् ।
नेपालले रेशम चौधरीको बारेमा जेलबाट रिहा गर्नका लागि पहलकदमी भइरहेको जनाएका छन् । ‘सर्वोच्च अदालतको फैसलाले रेशम चौधरीको रिहाईका लागि केही अवरोध गरेको छ तर अर्को विकल्प खोजी गरी रिहा गर्ने कोशिसमा हामी रहेका छौ ।’




