४ लाख ७६ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ – नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ को छ महिनामा चार लाख ७६ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । बोर्डका अनुसार यो सन् २०१९ को तुलनामा ८३ प्रतिशत ‘रिकभर’ हो ।
सन् २०२० को सुरुआतदेखि कोरोना महामारी सुरु भएपछि घट्दो क्रममा रहेको विदेशी पर्यटक आगमन सन् २०२३ मा भने ‘रिकभर’ हुने अवस्थामा पुगेको छ ।
यस वर्षको जनवरीदेखि जुनसम्म नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या गत वर्षको तुलनामा ९७ दशमलव ७९ प्रतिशतले बढी हो भने सन् २०१९ को तुलनामा १६ दशमलव ९३ प्रतिशतले कम हो ।
बोर्डका अनुसार यस वर्षको जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार दुईसय ४४, मार्चमा ९९ हजार चार सय २६, अप्रिलमा ९८ हजार सातसय ७३ र मेमा ७७ हजार सातसय तीन विदेशी पर्यटक नेपाल आएका थिए । साथै जुनमा ७२ हजार दुईसय ५० जना विदेशी पर्यटक नेपाल आएका छन् ।
जुन महिनामा भारतबाट ३८ हजार आठसय ४५, अमेरिकाबाट आठ हजार चारसय ७०, चीनबाट चार हजार तीनसय ४३, बङ्गलादेशबाट दुई हजार चारसय दुई, युनाइटेड किङ्गडमबाट एक हजार नौसय ९२, अष्ट्रेलियाबाट एक हजार छसय ३९, मलेसियाबाट एक हजार ७९, दक्षिण कोरियाबाट आठसय ८८, जापानबाट सातसय ६४ र भुटानबाट सातसय दुई जना पर्यटक नेपाल आएका छन् ।




