नेपाली भाषाको विकासमा आदिकवि भानुभक्त आचार्यको विशिष्ट योगदान

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली भाषाको विकासमा तथा नेपालको संस्कृतिक एकताको प्रवर्द्धनमा  आदिकवि भानुभक्त आचार्यको विशिष्ट योगदान रहेको बताएका छन् ।

भानु जयन्तीका अवसरमा शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानको सहयोगमा भानु प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सम्पर्क भाषा बनेको नेपाली भाषालाई घरघरमा स्थापित गराउन भानुभक्तको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरो हुन् ।

“भानुभक्तले नेपालको सांस्कृतिक एकताको प्रवर्द्धन गर्नुभयो । आज नेपालीमात्र होइन, नेपाली मूलका सबै विदेशी नागरिकले पनि भानुजयन्ती मनाउँछन्”, उनले भने, “भानुलाई सम्झेर नेपालसँग कुनै न कुनै प्रकारको साइनो, सम्बन्ध र एकताको भाव पैदा हुन्छ । सांस्कृतिक एकताका निम्ति भानुको योगदान अविष्मरणीय छ ।”

उपप्रधानमन्त्री श्रेष्ठले नेपालको राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै राष्ट्रिय एकता प्रवर्द्धन गर्न भानुभक्तबाट पनि प्रेरणा लिनुपर्ने उल्लेख गरे ।

“आदिकवि भानुभक्त आचार्य हाम्रो राष्ट्रिय विभूति हुनुहुन्थ्यो । हामी सबैको हृदयमा भानुभक्त अङ्कित छ, भानुभक्तले नेपालीमा रामायण लेख्नुभयो, रामायण सबैको मुखमुखमा पुग्यो, त्यस कारणले पनि हामी उहाँलाई स्मरण गर्छौं”, उनले भने, “तर त्यतिमात्र होइन, उहाँले हामी सबैको आज मुख्य सम्पर्क भाषा बनेको, हामी सबैलाई जोड्ने माध्यम बनेको नेपाली भाषालाई स्थापित गर्न र घरघरमा पुर्याउन महत्वपूर्ण योगदान पुर्याउनुभयो ।”
भानुभक्तले न्याय र जीवनको सार्थकताको पक्षमा आवाज उठाउनुभएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले जीवनको सार्थकता हरेकलाई बोध गराउन तथा न्यायको पक्षमा भूमिका निर्वाह गर्न प्रेरित गर्नुभएको स्मरण गराए ।

नेपालको पहिचान र गौरव कायम गर्न, नेपाली हुनाको गौरव स्थापित गर्न र भानुभक्तले निर्वाह गर्नुभएको भूमिका कायम राख्नका लागि राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता, अखण्डता र स्वाभिमानको रक्षा गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउनु आवश्यक रहेको उपप्रधानमन्त्री श्रेष्ठले बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भानुभक्तले भाषा एकीकरणका सम्बन्धमा क्रान्तिकारी योगदान गर्नुभएको बताउनुभयो । सम्पर्क भाषाका रुपमा नेपाली भाषाको विकास हुनुमा उहाँको अतुलनीय योगादन रहेको उनको भनाइ थियो ।

“भोलि भनेर टार्ने राणाकालीन प्रशासनिक र न्यायप्रणालीको ढिलासुस्तीमाथि त्यो जमानामा भानुभक्तले व्यङ्ग्य गर्नुभएको थियो । भानुभक्तले कवितामार्फत गर्नुभएको प्रहार चानचुने साहस थिएन”, उनले भने । आज पनि नेपालमा भोलिवाद भन्ने परम्परा कायम रहेको भन्दै उहाँले के हामी भोलिवादबाट मुक्त छौँ रु भनी प्रश्न गरे । मन्त्री किराँतीले भने, “मलाई लाग्छ, अहिले पनि हामी भोलिवादबाट मुक्त छैनौँ, भोलिवादलाई समाप्त गरेर देश र जनताप्रति समर्पित हुने संस्कृति हामीलाई चाहिएको छ ।”

भोलिवादलाई समाप्त गर्ने दायित्व हामी सबैको काँधमा आएको उल्लेख गर्दै मन्त्री किराँतीले भानुभक्तको औचित्य आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए । कार्यक्रममा विभिन्न साहित्यिक व्यक्तित्व तथा संस्थालाई सम्मान गरिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button