विधान महाधिवेशनमा ओलीले भने- “कम्युनिष्ट पार्टी जनताको सेवकका रूपमा प्रस्तुत हुनुपर्छ”

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी हमेशा जनताको सेवकका रूपमा प्रस्तुत हुनुपर्ने बताएका छन् ।

एमालेको प्रथम विधान महाधिवेशनमा आज प्रस्तुत राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले जनताको अपेक्षा र आकांक्षामा आफूलाई खरो उतार्नुपर्ने जनाउँदै आफूभित्र निरन्तर शुद्धीकरण गरिरहनु र जनताको बदलिँदो चाहनाअनुरूप अद्यावधिक भइरहनुपर्ने बताएका हुन् ।

‘बहुदलीय प्रतिष्पर्धामा श्रेष्ठता हासिल गर्न समाजका विभिन्न तप्काको मत प्राप्त गर्नुपर्ने आवश्यकता र सर्वहारा श्रमजीवी वर्ग पक्षधरतालाई जोगाइराख्ने दायित्वका बीचमा सन्तुलन मिलाउन विशेष कुशलता प्रदर्शन गर्नुपर्दछ’ उनले भने, ‘कम्युनिष्ट पार्टी शारीरिक श्रम र बौद्धिक श्रममा संलग्न सबै खाले श्रमजीवी वर्गको पार्टी हो ।’

पार्टीले समाजका निम्न तथा मध्यम वर्ग र परिवर्तनमा सहयोगी हुने राष्ट्रिय पुँजीपति वर्गको हितको समेत प्रतिनिधित्व गर्ने बताउँदै अध्यक्ष ओलीले भने, “कम्युनिष्ट पार्टी श्रमजीवी वर्ग पक्षधरताबाट कहिल्यै विचलित हुन सक्दैन ।” उनले कम्युनिष्ट पार्टीले विभिन्न वर्ग या समुदायका आन्दोलन सञ्चालनका लागि जनसङ्गठन निर्माण गर्न सक्ने बताउँदै विभिन्न शक्तिसँग वर्गीय र राजनीतिक मोर्चा निर्माण गर्ने विचार व्यक्त गरे ।

अध्यक्ष ओलीले भन्नुभयो, “जनताको अभिमत लिएर सत्ता सञ्चालन गर्न सक्छ । विकास निर्माण र सामाजिक रुपान्तरणका लागि पार्टीको भूमिका सङ्गीत निर्देशकको जस्तो हुनुपर्छ, जसले विभिन्न वाद्यवादकहरूलाई एउटै लयमा परिचालित गर्दै सुन्दर धुन निर्माण गर्छ ।”

अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन वाचन सुरु गरेर विस्तृत प्रस्तुतीका लागि स्थायी कमिटीका सदस्य शङ्कर पोखरेललाई जिम्मेवारी दिएका थिए । प्रतिवेदनमा वर्तमान राष्ट्रिय र अन्तर्राष्ट्रिय स्थिति, एमाले नेतृत्वको सरकारका उपलब्धि, संविधानको कार्यान्वयन, पूर्वाधार विकास, स्वास्थ्य सेवाको विस्तार, नयाँ सत्ता गठबन्धन गठन हुनु पछाडिका कारण, अबको बाटो, समाजवादको कार्यसूचीलगायत विषय समेटिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button