आँखा पाक्ने रोगको संक्रमण ‘इन्टेरो भाइरस’ बाट भएको पुष्टि

 काठमाडौं – हाल देशभर देखिएको आँखा पाक्ने रोगको संक्रमण ‘इन्टेरो भाइरस’ बाट भएको पुष्टि भएको छ ।

आँखा पाक्ने रोगको लक्षण भएका व्यक्तिहरुबाट नमुना संकलन गरी परीक्षण गर्दा उक्त भाइरस पुष्टि भएको हो । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आँखा पाक्ने रोग भएका लक्षण १० जनाको गत शुक्रबार नुमना संकलन गरिएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा ८ वटा नमुनामा ‘इन्टेरो भाइरस’ पुष्टि भएको सूचना अधिकारी कृष्णप्रसाद जैसीले जानकारी दिए ।

देशभर फैलिएको आँखा पाक्ने रोगको मुख्य कारण पत्ता लगाउनका लागि नेपाल अफ्थालमिक सोसाइटी तथा नेपाल नेत्र ज्योति संघसँग सहकार्य गरेर सातैवटा प्रदेशबाट थप नमुनाहरु संकलन गरेर परीक्षण गर्ने योजना रहेको जैसीले बताए ।

इन्टरो भाइरसको संक्रमणले आँखा रातो हुने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने हुन्छ । कतिपय संक्रमितमा परेला सुन्निने, आँखा बिझाउने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुनेलगायतका समस्या पनि देखिएको छ । यो रोग सबै उमेर समूहमा देखिएको छ ।  इन्टेरो भाइरसले खासगरी रुघा, खोकी, ज्वरो, एलर्जी र शरीरका विभिन्न अंगमा संक्रमण गराउँछ ।

आँखा पाक्ने रोगबाट ६ उपायहरु :

साबुनपानीले हात धुने : आँखा पाक्ने व्यक्तिलाई छुँदा, उसले प्रयोग गरेका सामान छुँदा र आँखामा औषधि लगाइसकेपछि साबुनपानीले हात धुनुपर्छ । किनकि आँखा पाक्ने रोग आँसु र कचेराका कारण सर्ने गर्छ । यी सबै गरिसकेपछि हात धुँदा संक्रमण हुने जोखिम न्यून हुन्छ । त्यसैले हेलचेक्र्याइँ नगरी आँखा पाक्ने रोग लागेका मानिससँग प्रत्यक्ष सम्पर्कमा आउँदा हात धुने गर्नुपर्छ ।

छुट्टै सुत्ने : आँखा पाकेको छ भने त्यस्ता व्यक्ति निको नभएसम्म छुट्टै कोठामा सुत्नु राम्रो हुन्छ । यसो गर्दा संक्रमित व्यक्तिको घरका अरु सामानसँग प्रत्यक्ष सम्पर्क हुन पाउँदैन र सर्ने सम्भावना कम हुन्छ । त्यस्तै आँखा पाकेका व्यक्तिले प्रयोग गरेका रुमाल, तकिया, लुगा, मोबाइल, ल्यापटप लगायत सामान अरुले प्रयोग नगर्नु उत्तम हुन्छ ।

मुख धुने :आँखा पाकेको बेला पटकपटक मुख धुनुपर्छ । यसबेला आँसु बगिरहने र कचेरा आइरहने भएकाले मुख धुँदा ती आँसु र कचेरा पखालिन्छन् । जसले अरुलाई सर्ने सम्भावना न्यून हुन्छ । तर आँखालाई हातमा पानी राखेर झिमझिम गर्ने वा आँखालाई बल गरेर धुने कार्य भने गर्नुहुँदैन । यसले संक्रमण बढ्न सक्छ । त्यसैले आँखा चिम्लेर दैनिक चार-पाँच पटक धुन सकिन्छ ।

चश्मा लगाउने : आँखा पाकेका व्यक्तिले कालो चश्मा लगाएर बस्नुपर्छ । यसो गर्दा अरुलाई सर्ने सम्भावना कम हुन्छ । साथै आँखाको नानीमा असर परेकाहरूलाई नाङ्गो आँखाले उज्यालोमा हेर्दा अप्ठ्यारो र चिडचिडापन हुने भएकाले त्यसबाट जोगाउन मद्दत गर्छ । साथै संक्रमित आँखामा थप बाह्य संक्रमण हुनबाट रोक्न पनि मद्दत गर्छ ।

एन्टिबायोटिक प्रयोग गर्ने : आँखा पाकेमा चिकित्सकलाई जाँच गराएर एन्टिबायोटिक लगाउन सकिन्छ । दिनको तीनदेखि पाँच पटकसम्म यसलाई लगाउन सकिन्छ ।

भीडभाडबाट टाढा रहने : आँखा पाकेको छ भने भीडभाडमा हुने स्थान जस्तै, विद्यालय, पार्क र मलमा जानुहुँदैन । सकेसम्म घरमै बस्दा उचित हुन्छ । यसले गर्दा अरुलाई सर्ने सम्भावना कम हुन्छ । प्राय: बालबालिका, वृद्धवृद्धा र रोगप्रतिरोधात्मक क्षमता कम भएकालाई यो रोग चाँडै सर्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button