भक्तपुरको बालसुधार गृहमा भएको घटनाका दोषीलाई कारबाही गर्न माग

काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले यही भदौ ३ गते भक्तपुरको बालसुधार गृहमा भएको घटनाका सम्बन्ध सरकारको ध्यानाकर्षण गराउँदै घटनाका दोषीलाई कारबाही गर्न माग गर्नुभएको छ ।
बालसुधार गृह भित्रै भएको कमल बस्नेतको निधनका सम्बन्धमा सत्यतथ्य छानविन गरी दोषीलाई कारबाही गर्न माग गर्नुभएको हो ।
बैठकमा सांसद दुर्लभ थापा क्षेत्रीले बस्नेतको निधन र त्यसपछि भएको घटनाका सम्बन्धमा सम्बन्धित निकायलाई सत्यतथ्य छानविन गरी दोषीलाई कारबाही गर्न र निधन भएका बालकको परिवारलाई उचित क्षतिपूर्ति दिन माग गर्नुभयो ।
यसैगरी सांसद निशा डाँगीले कमल बस्नेतको मृत्यु सम्बन्धमा सत्यतथ्य सार्वजनिक गर्न आग्रह गर्दै सुधार गृहका बालबालिकाले पाउने सेवा सुविधामा पनि ध्यान दिन आग्रह गर्नुभयो ।



