सबै समुदायका भाषा, धर्म, संस्कृतिको संरक्षणले सबै नेपाली एकताबद्ध हुनुपर्छ

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका भाषा, धर्म, संस्कृतिको संरक्षणले सबै नेपालीलाई एकताबद्ध गर्ने बताएका छन् ।

नेपाल तामाङ सङ्घ (समाजवादी) को केन्द्रीय कमिटीको दोस्रो अधिवेशनको सनिवार उद्घाटन गर्दै उनले विविध जातजातिका फरक भाषा, साहित्य, कला, मौलिक संस्कृति र रहनसहन संवर्द्धनबाट नेपाली समाजलाई अन्तर्राष्ट्रिय तहमा सांस्कृतिकरूपमा सम्पन्न बनाएको बताए ।

मुलुकमा कुनै वर्गमाथि हुने विभेद र शोषण आफूहरूलाई स्वीकार्य नहुने उल्लेख गर्दै उनले त्यस्तो कार्यविरूद्ध सबै एकजुट भई एकापसमा सहअस्तित्व, समतामूलक समाज, सामाजिक रुपान्तरणका लागि क्रियाशील हुनुपर्ने विचार व्यक्त गरे ।

देशको हरेक परिवर्तन सफल पार्न सो समुदायको महत्त्वपूर्ण योगदान रहेको बताउँदै उनले उनीहरूको आर्थिक, सांस्कृतिक र सामाजिक रुपान्तरण अपेक्षाकृतरूपमा हुन नसकेकाले अधिकार संरक्षण गर्नुपर्नेमा जोड दिए।

अध्यक्ष नेपालले सबै समुदायका धर्म, संस्कृति संरक्षण तथा अधिकार स्थापित गरी सदियौँदेखि कायम रहिआएको धार्मिक सहिष्णुतालाई जोगाउन प्रत्येक नेपालीको दायित्व रहेको उल्लेख गरे ।

मुलुकमा समाजवादका माध्यमबाट आर्थिक विकास र सुशासन कायम हुने विश्वास व्यक्त गर्दै अबको क्रान्ति समाजवादसहितको आर्थिक उत्पादनमा हुनुपर्नेमा जोड दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button