जिल्ला सभापतिहरुको मागप्रति नेतृत्व सकारात्मक, अनशन टुंगियो

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय जिल्ला सभापतिहरूले रिले अनसन तोडेका छन्। क्रियाशील सदस्यताको विवाद टुंग्याएका तीन कार्यदल सदस्य शनिबार साँझ अनसनस्थल पुगेर अनसन तोडाएका हुन्।
जिल्ला सभापतिको अनशन तोडाउन क्रियाशील सदस्यता विवाद समाधानमा खटिएका नेताहरु कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखक अनसनस्थल केन्द्रीय कार्यालय पुगेका थिए । विभिन्न माग राखेर कांग्रेस केन्द्रीय कार्यालय सानेपामा विगत चार दिनदेखि जारी जिल्ला सभापतिको रिले अनशन स्थगित भएको छ ।
देशभरका ७७ वटै जिल्लाको वडामा एकैसाथ अधिवेशन प्रारम्भ गर्नुपर्ने, एउटा निर्वाचन क्षेत्र भएको जिल्ला सभापति स्वतः महाधिवेशन प्रतिनिधि हुन पाउनुपर्ने, क्रियाशील सदस्यताको सूची तत्काल सार्वजनिक गर्ने र त्रुटि भएको भए सच्याउन पाउनुपर्नेलगायतका माग राखेर जारी अनशन शनिबार साँझ स्थगित भएको हो ।
पार्टीका संस्थापन इतर पक्षको समेत समर्थन रहेको उक्त अनशनमा पार्टीका सभापति शेरबहादुर देउवा जिल्ला सभापतिले राखेका मागप्रति सकारात्मक देखिएपछि अनशन स्थगन गरिएको कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले जानकारी दिए ।
“जिल्ला सभापतिहरुले राखेका तीनवटै मागहरुप्रति नेतृत्व सकारात्मक देखिएको र समयमै महाधिवेशन गर्न इच्छुक देखिएकाले हामीले अनशन स्थगन गरेका हौँ”, उनले भने । जिल्ला सभापतिले राखेका माग र सहमतिमा अधिवेशन गराउनेबारे यसअघि पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच पनि छलफल भएको थियो ।




