बैंकिङ कसुरमा पक्राउ परेका पूर्व रजिष्ट्रार पराजुलीसहित चार जना कारागार चलान

कास्की – सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिष्ट्रार उदयबहादुर पराजुलीसहित चार जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।

कास्की जिल्ला अदालतका न्यायाधीश ऋषिराम आचार्यको इजलासले उनीहरुलाई पुर्पक्षका लागि कारागर पठाउन आदेश दिएको हो।

थुनामा जानेमा सहकारीका सञ्चालक गोपाल खनाल, बुद्धिसागर पौडेल र राजु बरालसमेत हुनुहुन्छ। कास्कीको मित्रमिलन सहकारीको कार्यक्षेत्र थप गर्न रकम लिएको आरोपमा प्रहरीले पराजुलीलाई पुस ११ गते पक्राउ गरेको थियो।

उनले कार्यक्षेत्र थप गर्न भनी एक करोड पाँच लाख रुपैयाँ लिएको अनुसन्धानका क्रममा देखिएको थियो। हाल पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहनुभएका पराजुली जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन भएका थिए।

जिल्ला अदालत कास्कीबाट गएको मङ्सिर २६ गते ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। अनुसन्धानका क्रम संलग्नता पुष्टि भएपछि पछि थप दुई जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको थियो।

सहकारी रजिष्ट्रार कार्यालयको प्रतिवेदनले २६ करोड रुपियाँ अपचलन भएको देखाएको छ। मित्रमिलनको रकम अपचलन अभियोगमा अहिलेसम्म पराजुलीसहित छ जना पक्राउ परिसकेका छन्।

पोखरा २१ का वडाध्यक्ष दीपक सुवेदीसहित दुई दर्जनभन्द बढी अझै फरार छन्। फरारहरुको खोजी भइरहेको र सहकारीमा भएको ठगीबारे अनुसन्धान जारी रहेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले बताए ।

सहकारीका अध्यक्ष रमण पौडेल र प्रबन्ध निर्देशक किरण अधिकारीलाई कात्तिक ४ गते नै प्रहरीले बैंकिङ कसुरमा पक्राउ गरेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button