आगामी बजेटमा शक्तिखोर औद्योगिक क्षेत्रबारे सम्बोधन हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको कालिका नगरपालिकामा स्थापना गर्ने भनिएको शक्तिखोर औद्योगिक क्षेत्रको विषय आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गर्ने बताएका छन् ।

कालिका नगरपालिकाका मेयर विनोद रेग्मी नेतृत्वको प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा प्रधानमन्त्री प्रचण्डले सो आश्वासन दिएका हुन् ।

प्रचण्ड नै प्रधानमन्त्री रहेको बेला ३ फागुन २०७३ को मन्त्रिपरिषद् बैठकले तत्कालीन नेकपा (माओवादी)का लडाकुहरुको तेस्रो डिभिजन बसेको शक्तिखोर क्षेत्रलाई औद्योगिक क्षेत्र बनाउने निर्णय गरेको थियो । सरकारले विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार पारेर स्वीकृत गराई परियोजना अगाडि बढाउने जिम्मेवारी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई दिए पनि अहिलेसम्म कार्यान्वयन भएको छैन ।

पूर्व–पश्चिम राजमार्गको रत्ननगरबाट १० किलोमिटर उत्तरमा पर्ने शक्तिखोरमा औद्योगिक क्षेत्र खोल्न सहजीकरण गरिरहेको उद्योग संघ, चितवनमा १०८ कम्पनीले फर्म दर्ता गराएका छन् । डीपीआरअनुसार प्रस्तावित औद्योगिक क्षेत्रको कुल १९ सय ४१ बिघामध्ये ७२३ बिघामा उद्योगहरु खुल्नेछन् । ३२४ बिघामा व्यावसायिक भवन र ६५ विघामा आवासीय भवनहरु बनाउने योजना छ । बाँकी सबै हरियाली क्षेत्र रहने डीपीआरमा उल्लेख छ ।

आज बिहान कालिकाका मेयर विनोद रेग्मीसहितको टोलीले प्रधानमन्त्री प्रचण्डलाई भेटेर शक्तिखोर औद्योगिक क्षेत्र स्थापनाका साथै समग्र कालिकाको विकास र समृद्धि तथा समावेशी शिक्षालगायत विषयमा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएको थियो । त्यसपछि प्रधानमन्त्री प्रचण्डले औद्योगिक क्षेत्र स्थापनाको विषय आगामी बजेटमा सम्बोधन गर्ने आश्वासन दिएको मेयर रेग्मीले बताए ।

भेटघाटमा त्रिशूली डाइभर्सन, सामान्नीकरण अनुदान, समावेशी स्कुल स्थापनालगायत समग्र नगरको विकासका विषयमा प्रधानमन्त्री दाहालसमक्ष पहलकदमीका लागि अनुरोध गरिएको मेयर रेग्मीले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डसँगको भेटमा कालिकाका मेयर रेग्मीसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमान पुन, नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल, एमाले केन्द्रीय सदस्य कपिल पोखरेल, समावेशी शिक्षाविज्ञ तथा अभियन्ता डा. बाबुराम ढुङ्गाना, बहिरा महासङ्घका निवर्तमान अध्यक्ष केपी अधिकारीलगायत सहभागी थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button