दीपेन्द्रले एउटै ओभरमा छ छक्का हानेर नेपालका लागि कीर्तिमानी खेल प्रदर्शन गरे

नेपालका लागि ऐरीले कीर्तिमानी खेल प्रदर्शन गरेका छन् । उनले एकै ओभरमा छ छक्का प्रहार गर्दै यसअघि भारतका युवराज सिंहका नाममा रहेको कीर्तिमानको बराबरी गरेका छन् । पारीको अन्तिम ओभरमा बलिङ गर्न कतारका कमरान खान आएका थिए । उक्त ओभरको छ बलमा ऐरीले छ छक्का प्रहार गरेका थिए ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा २१० रन बनायो । नेपालका लागि ऐरीले सर्वाधिक ६४ रन बनाए । कूल २१ बल खेलेका उनले सात छक्का र तीन चौका प्रहार गरे ।
नेपालका लागि ओपनर आशिफ शेखले पनि अर्धशतकीय पारी खेले । उनले ४१ बलमा छ चौकाको सहयोगमा ५२ रन बनाए । कुशल मल्लले १८ बल खेल्ने क्रममा तीन छक्का र दुई चौकाको सहयोगमा ३५ रन बनाए । साथै कप्तान रोहित पौडेलले १८, कुशल भुर्तेलले १२, सन्दीप जोराले सात, गलसन झा र विवेक यादवले पाँच÷पाँच रनको योगदान दिए ।
कतारका लागि हिमांशु राठोर र मुसावर शाहले तीन÷तीन विकेट लिए भने अमीर फारुकले एक विकेट लिए ।
आज नेपालको प्लेइङ ११ मा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आशिफ शेख, सन्दीप जोरा, गुल्सन झा, विवेक यादव, अभिनाश बोहोरा, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र कुशल मल्ल छन् ।




