रवि सहित १५ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर : यस्तो छ रविको बयान!

काठमाडौं – साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसहित १५ जना व्यक्ति र ६ वटा संस्थालाई प्रतिवादी बनाउँदै चितवन जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।

मंगलबार सरकारी वकिल कार्यालयको रायअनुसार लामिछानेसहित छविलाल जोशी, रामबहादुर खनाल, रविना रिमाल, विशाल गुरुङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफअलि सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणी बास्तोला, शिवबहादुर गुरुङ, र प्रगति श्रेष्ठविरुद्ध मुद्दा दायर गरिएको हो।

साहारा सहकारीबाट रकम गएका पाँच कम्पनीहरूमा गोर्खा मिडिया नेटवर्क प्रालि, नेचर हव इन्टरनेशनल प्रालि, जिवी ग्रुप अफ कम्पनी, स्प्रिङ उड स्टेट हाउजिङ प्रालि, र नेचर नेस्ट प्रालि छन्। यी प्रतिवादीहरूविरुद्ध करिब ५६ करोड रुपैयाँ बिगो माग गरिएको छ।

अभियोगपत्रका अनुसार रवि लामिछानेले आफ्नो पदको हैसियत प्रयोग गरी श्रीमती निकिता पौडेलको नाममा चार वटा चेक काटेका थिए। साथै, श्रीमती आबद्ध गोपिकृष्ण मुभिजको नाममा थप दुई वटा चेक जारी गरिएको उल्लेख छ।अभियोगपत्रमा उल्लेख भएअनुसार, गोर्खा मिडिया नेटवर्क प्रालिको बैंक खाताबाट लामिछानेको हस्ताक्षरसहित ५९ लाख ३८ हजार २५१ रुपैयाँ निकिता पौडेलको नाममा र ८१ लाख २५ हजार रुपैयाँ गोपिकृष्ण मुभिजको नाममा भुक्तानी गरिएको देखिन्छ।

तर, लामिछानेले यी सबै आरोप अस्वीकार गर्दै आफूले केवल जिबी राईको निर्देशनमा जिम्मेवार कर्मचारीको भूमिका निभाएको र कुनै पनि वित्तीय कारोबारमा संलग्न नभएको बताएका छन्। उनका अनुसार, गोरखा मिडिया नेटवर्क सुरु गर्दा गितेन्द्र बाबु राई र छविलाल जोशी सञ्चालक थिए, र उनले १५ प्रतिशत स्वेट शेयर पाउने निर्णय दुबै सञ्चालकको प्रस्तावअनुसार भएको हो। उनले कम्पनीमा कुनै आर्थिक लगानी नगरेको र वित्तीय कारोबारमा कुनै संलग्नता नभएको दाबी गरेका छन्।

लामिछानेका अनुसार, उनले गोरखा मिडिया नेटवर्कमा केवल कर्मचारीको रूपमा काम गरेका थिए, र वित्तीय निर्णयहरू कार्यकारी अध्यक्ष गितेन्द्र बाबु राईको निर्देशनमा मात्रै भएका थिए। बैंक खाताको हस्ताक्षरकर्ता हुनु भनेको वित्तीय स्रोतको जानकारी हुनु आवश्यक नभएको उनले बताएका छन्। उनले भने, “गोरखा मिडिया नेटवर्क नयाँ कम्पनी भएकाले प्रारम्भिक खर्चहरू धेरै भएका थिए। मेरो कार्यकालमा सबैभन्दा धेरै चेकहरू जारी भएका कारण देखिन्छ, तर ती सबै बोर्ड निर्णय, सम्झौता, र कार्यकारी अध्यक्षको निर्देशनमा भएका थिए।”

लामिछानेले आफू गोरखा मिडिया नेटवर्कका मालिक वा लगानीकर्ता नभएको दाबी गर्दै, “कुनै पनि कम्पनीको खातामा हस्ताक्षरकर्ता हुनु भनेको सो कम्पनीको मालिक हुनु होइन,” भनी बयान दिएका छन्।

उनले यस घटनामा आफ्नो संलग्नता नरहेको दाबी गर्दै आफूलाई गलत तरिकाले जोडिएको बताएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button