प्रधानमन्त्रीलाई नै निर्णय गर्न असहज हुने प्रावधान नराखौँ : मन्त्री शर्मा

काठमाडौँ, २६ वैशाख : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ऐन निर्माण गर्दा प्रधानमन्त्रीलाई नै अल्पमतमा पार्ने प्रावधान राखेर विधेयक अघि बढाउन नहुने सुझाव दिनुभएको छ ।
प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा सवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा उहाँले सो सुझाव दिनुभएको हो ।
मन्त्री शर्माले भन्नुभयो, “संवैधानिक परिषद्मा बैठक सञ्चालनका लागि उपस्थित आवश्यक न्यूनतम सङ्ख्याका विषयमा प्रधानमन्त्रीलाई नै असहज गर्ने प्रावधान राख्दा अप्ठेरो हुन्छ, प्रधानमन्त्रीसहितको सहमतिमा अघि बढ्ने विषयमा छलफल गरेर जाऔँ ।” उ
हाँले संवैधानिक परिषद् विधेयकमा छिट्टै निकास निकाली आगामी संसद्को अधिवेशनमा पेस गर्ने हिसावले अघि बढन समितिलाई सुझाव दिनुभयो ।
उक्त विधेयकमाथि विगतमा लामो छलफल भएको र अधिकांश विषयमा सहमति भइसकेकाले बाँकी केही महत्वपूर्ण विषयमा शीर्ष तहमा छलफल गरी आगामी बैठकमा टुङ्ग्याउने सहमति भएको छ ।
बैठकमा सदस्यहरुले यसअघिका विधेयक सर्वसम्मतिमा पारित गरिँदै आएको इतिहास सुनाउँदै प्रस्तावित विधेयक पनि दलहरुबीच सहमति कायम गरी आगामी संसद्को अधिवेशनबाट टुङ्ग्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
दलहरुबीच सहमतिको प्रयास गरिँदा ऐन देख्दा ठीक र अभ्यासमा पनि व्यावहारिक हुनुपर्ने उल्लेख गर्दै उहाँहरुले बैठकमा अनुपस्थित हुने अवस्था अन्त्य र उपस्थितिलाई प्रोत्साहन गर्ने गरी विधेयकलाई गुणस्तरीय तुल्याउन सुझाव दिनुभयो ।
केही सदस्यले भने समितिमा प्रवेश पाएका विधेयकको जिम्मेवारी पूरा गर्न कार्यतालिका बनाएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रत्येक सरकारले संवैधानिक परिषद्लाई आफ्नो हितअनुकूल बनाउने प्रयासले गलत कार्य भएको भनी केही सदस्यले आक्रोश पोख्दै संवैधानिक परिषद्बाट हुने निर्णय र जिम्मेवारी प्राप्त गर्ने व्यक्तिको योग्यता र क्षमतामा प्रश्न उठ्नु नहुने खालको हुनुपर्छ भन्नुभयो ।
मुख्य जिम्मेवारी विधेयकमाथि छलफल गर्ने र टुङ्ग्याने विषयलाई बेवास्ता गरिँदा जनतामा सांसदप्रति नकारात्मक टिप्पणी भइरहेको विषयलाई गम्भीरताका साथ लिएर काम गर्नुपर्ने केही सदस्यले आवश्यकता औँल्याउनुभयो । समितिमा हाल चार विधेयक रहेको बताइएको छ ।
सरकारले संवैधानिक परिषद्को बैठक बोलाउने कार्यविधि, बैठक सञ्चालन, बैठकका लागि आवश्यक रहने गणपूरक सङ्ख्या समतिका विषयमा संशोधन गर्ने मात्र ध्येयले विधेयक ल्याएको थियो ।




