देशभर ६३ स्थानमा यातायात अवरुद्ध, काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका बन्द

काठमाडौं- लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण देशभर २३ सडकका ६३ स्थानमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

सडक विभागले आज दिउँसो १२ बजेसम्म सङ्कलन गरेको प्रारम्भिक विवरण अनुसार, बाढी र पहिरोका कारण हिमाली र पहाडी क्षेत्रका अधिकांश सडकखण्डमा यातायात प्रभावित भएको छ।

विभागको प्रारम्भिक तथ्यांक अनुसार, काठमाडौँ उपत्यकामा प्रवेश गर्ने सबै नाका बन्द भएका छन्। विभागका सम्भार महाशाखा प्रमुख अर्जुन अर्यालका अनुसार २३ वटा मुख्य सडकका ६३ स्थान अवरुद्ध भएका छन्। उनले राससलाई भने, “कर्मचारीहरु सबै स्थानमा पुग्न नसक्दा, साथै विद्युत् र इन्टरनेटको अवरोधले गर्दा सबै विवरण संकलन गर्न कठिनाई भएको छ। यो प्रारम्भिक रिपोर्ट मात्रै हो।”

अर्यालले थप जानकारी दिँदै भने, “पाँचथरबाट ताप्लेजुङ जाने बाटोमा रहेको हेवाखोला बेलिब्रिज बगाएको छ। अरनिको राजमार्गमा लार्चा बेलिब्रिज र बिपी राजमार्गको खुर्कोट-मन्थली सडकको पुल बगाएको छ।”

कुलेखानी जलविद्युत् आयोजनाको जलाशय खोलिएकाले कान्ति लोकपथमा बागमती पुल जोखिममा परेको छ। बिपी राजमार्गमा रोशी खोलामा आएको बाढीले करिब १०० मिटर सडक बगाएको छ।

काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका हाल बन्द रहेका छन् भने नदीमा पानीको सतह निरन्तर बढिरहेको कारण धेरै पुल जोखिमपूर्ण अवस्थामा छन्।

त्रिभुवन राजपथ, सिर्सिया-पथलैया-हेटौँडा-भैँसे-पालुङ-नौबिसे-काठमाडौँ सडकखण्ड, पृथ्वी राजमार्गको नौबिसे-मुग्लिन-पोखरा खण्ड, अरनिको राजमार्गको काठमाडौँ-धुलिखेल-कोदारी सडकखण्ड लगायत प्रमुख सडकहरु अवरुद्ध छन्।

यस्तै, कालीगण्डकी करिडोर, राप्ती राजमार्ग, सिद्धार्थ राजमार्ग, पुष्पलाल मध्यपहाडी राजमार्ग, भेरी करिडोर, मेची राजमार्ग लगायतका विभिन्न सडकहरु पनि बाढी र पहिरोका कारण अवरुद्ध भएका छन्।

विभागका अनुसार, ठूलो पहिरो र पुल बगाएका स्थानबाहेक अन्य स्थानमा दुई घण्टाभित्र सडक खुलाउन प्रयास भइरहेको छ। “विभिन्न सडक डिभिजनका टोलीहरु तयारी अवस्थामा छन्,” अर्यालले थपे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button