सरकारले तीन दिन विद्यालय बन्द गर्न सवै स्थानीय तहलाई अनुरोध

काठमाडौँ- सरकारले अविरल वर्षाका कारण उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै तीन दिन विद्यालय बन्द गर्न सबै स्थानीय तहलाई हार्दिक अनुरोध गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले आज एक महत्वपूर्ण विज्ञप्ति जारी गर्दै निरन्तरको वर्षाले विद्यालय सञ्चालनमा गम्भीर अवरोध उत्पन्न भएको हुँदा सबै स्थानीय तहहरूलाई तीन दिन विद्यालय बन्द गर्न सिफारिस गरिएको जानकारी दिनुभयो।
उहाँले बाढी र पहिरोका कारण प्रभावित नागरिकहरूको आकस्मिक व्यवस्थापनका लागि विद्यालय भवनहरू प्रयोग गर्नुपर्ने अवस्था आएको हुँदा पनि यो निर्णय गरिएको बताउनुभयो।
प्रवक्ता भट्टराईले थप जानकारी दिँदै अविरल वर्षाले देशभरका विश्वविद्यालय र विद्यालयहरूमा भौतिक क्षति पुर्याएको, विद्यार्थी र अभिभावकहरू बाढी पहिरोको चपेटामा परेको, यातायात अवरुद्ध भएको, र जनजीवनसमेत प्रभावित भएकाले विद्यालयहरू अस्थायी रूपमा बन्द गर्नुको विकल्प नरहेको उल्लेख गर्नुभयो।
साथै, मन्त्रालयले देशभरका शैक्षिक संस्थाहरूमा भएको क्षतिको विवरण विश्वविद्यालय अनुदान आयोग र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत मन्त्रालयमा यथाशीघ्र पठाउन समेत अनुरोध गरेको छ।


