कोप–२९को २९औँ सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन संरचना महासन्धि (कोप–२९) को २९औँ सम्मेलनमा सहभागी हुन हिजो अपराह्न अजरबैजानको बाकु प्रस्थान गर्नुभएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा राष्ट्रपति पौडेललाई उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेले बिदाइ गर्नुभयो। यसअघि नेपाली सेनाको एक टुकडीले उहाँको सम्मानमा सम्मानगारत अर्पण गरेको थियो।

उक्त भ्रमणमा उपप्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू, नेपाल सरकारका उच्च अधिकारीहरू तथा सुरक्षा निकायका प्रमुख र नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिहरू पनि विमानस्थल पुगेका थिए।

राष्ट्रपति पौडेलको यो भ्रमण अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा भएको हो। उहाँले कात्तिक २७ र २८ गते हुने सम्मेलनको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’मा कात्तिक २७ गते सम्बोधन गर्नुहुनेछ।

कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा नेपालले ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’ शीर्षकमा विशेष सत्र सञ्चालन गर्नेछ, जसमा नेपालले आफ्ना महत्त्वपूर्ण एजेन्डाहरूमा विश्व समुदायको ध्यानाकर्षण गराउने योजना छ।

सम्मेलनआज कात्तिक २६ देखि सुरु भई मङ्सिर ७ गतेसम्म चल्नेछ। सम्मेलनमा सहभागी भएपछि राष्ट्रपति पौडेल कात्तिक ३० गते शुक्रबार बिहान स्वदेश फर्किने कार्यक्रम छ।

राष्ट्रपतिको भ्रमण टोलीमा उहाँकी धर्मपत्नी सावित्रा पौडेल, जल तथा वातावरण विज्ञ डा. परमेश्वर पोखरेल, मुख्य निजी सचिव अवज्ञा पौडेल, सञ्चार विज्ञ किरणकुमार पोखरेल, राष्ट्रपति कार्यालयका सचिव नारायण प्रसाद शर्मा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि पुष्कर, राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, तथा परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई लगायत सहभागी हुनुहुन्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button