नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक मन्त्रिपरिषद्मा प्रस्तुत।

काठमाडौँ – नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग सम्बन्धित कानुनलाई संशोधन र एकीकरण गर्न तयार गरिएको विधेयक आइताबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रस्तुत गरिएको छ।
गृह मन्त्रालयले अर्थ मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, र लोक सेवा आयोगको सहमतिपछि प्रहरी विधेयक मन्त्रिपरिषद्मा पेस गरेको हो।
गृह मन्त्रालयका कानुन महाशाखाका प्रमुख सहसचिव भरतमणि रिजालका अनुसार, प्रहरी ऐन २०१२ का कानुनी प्रावधानलाई अद्यावधिक गर्दै नयाँ प्रहरी ऐन तयार गर्न, सर्वोच्च अदालतबाट समय-समयमा भएका सेवा सर्तसम्बन्धी निर्णय कार्यान्वयन गर्न, र संविधान, कानुनी शासन, लोकतन्त्र, लैङ्गिक समानता, जवाफदेहिता तथा मानव अधिकारप्रति प्रतिबद्ध प्रहरी सेवा प्रदान गर्ने लक्ष्यसहित यो विधेयक अघि सारिएको हो।
सार्वजनिक शान्ति, अपराध नियन्त्रण र अनुसन्धान तथा सुव्यवस्था कायम गर्न आवश्यक कानुनी परिमार्जनसहितको यो विधेयक संघीय संसद्मा प्रस्तुत गर्न मन्त्रिपरिषद्को स्वीकृति आवश्यक भएकाले पेस गरिएको सहसचिव रिजालले जानकारी दिनुभयो।
यसैगरी, सशस्त्र प्रहरी ऐन २०५८ का प्रावधानलाई समयअनुसार परिमार्जन गरी नयाँ ऐन तर्जुमा गर्न, सर्वोच्च अदालतका फैसलालाई कार्यान्वयन गर्दै सशस्त्र प्रहरी सेवालाई संविधान, मानव अधिकार, र प्रचलित कानुनअनुकूल बनाउने उद्देश्य राखिएको छ। विपद् व्यवस्थापन, सीमा सुरक्षा, र अपराध नियन्त्रणजस्ता कार्यमा थप प्रभावकारी बनाउने लक्ष्यसहित विधेयक अघि बढाइएको छ।
गृहमन्त्री रमेश लेखकले आफ्नो पद बहालीपछि प्रहरी संगठनलाई सुदृढ, व्यवस्थित, र क्रियाशील बनाउने प्राथमिकताका साथ विधेयक संशोधन र परिमार्जनमा जोड दिनुभएको थियो। सहसचिव रिजालका अनुसार, विधेयक स्वीकृत भएपछि नेपाल प्रहरी ऐन र सशस्त्र प्रहरी ऐनका संशोधित प्रावधानले संगठनलाई थप सशक्त बनाउँदै सञ्चालन सहज बनाउने अपेक्षा गरिएको छ।
नयाँ विधेयकले ३० वर्षे सेवा अवधि हटाउने, तल्लो दर्जाका प्रहरीलाई १६ वर्षे सेवा पछि अवकाशको प्रावधान राख्ने, र प्रहरी संगठनलाई समावेशी तथा राष्ट्रिय स्वरूपको बनाउने व्यवस्था गरेको छ।
गृह मन्त्रालयले दुवै ऐनलाई प्रतिस्थापित गर्दै प्रहरी सेवाका कर्मचारीहरूको हित र कल्याणका नयाँ प्रावधान समेटेको छ। प्रस्तावित विधेयक कानुनको रूप लिएपछि दुवै प्रहरी संगठनको व्यापक लाभ हुने विश्वास गरिएको छ।




