भृकुटीमण्डपमा नेपाल उड फर्निचर तथा होम टेक्सटाइल अन्तर्राष्ट्रिय प्रदर्शनी एक्स्पो सुरु

काठमाडौं- नेपाल उड फर्निचर तथा होम टेक्सटाइल अन्तर्राष्ट्रिय प्रदर्शनीको दसौँ संस्करण आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ। यस प्रदर्शनीमा नेपाल, भारत, चीनलगायत विभिन्न देशका काठजन्य सामग्री उत्पादन गर्ने क्षेत्रका १०० भन्दा बढी कम्पनीका प्रतिष्ठित ब्रान्डहरू प्रदर्शनमा राखिएका छन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले प्रदर्शनीको उद्घाटन गर्दै, देशमा उद्योग स्थापना गर्न नसक्दा स्वरोजगारका लागि प्रदान गरिएका तालिमहरूको लगानीबाट अपेक्षित लाभ उठाउन नसकेको बताए। उहाँले सरकारद्वारा उपलब्ध गराइएका प्राविधिक तालिमहरूको उपयोग गर्न तथा रोजगारी सिर्जना गर्न काठजन्य उद्योगहरूले महत्वपूर्ण भूमिका खेल्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

मन्त्री भण्डारीले भने, “सीपयुक्त जनशक्तिलाई साना उद्योग स्थापना गर्न सरकार, निजी क्षेत्र र वित्तीय संस्थाहरूले सहयोग गर्नुपर्छ। साथै, नयाँ प्रविधि र उपकरण भित्र्याउन सातै प्रदेशका सदरमुकामहरूमा यस्ता प्रदर्शनीहरूको नियमित आयोजना गरिनुपर्छ, जसले स्वरोजगार प्रवर्द्धनमा योगदान पुर्याउँछ।”

प्रदर्शनीको मुख्य उद्देश्य नेपालमा उपलब्ध कच्चा पदार्थहरूको उपयोग गरेर तयार गरिएका उत्पादनलाई विदेशी बजारमा निर्यातका लागि सहजीकरण गर्नु, नवीनतम प्रविधि भित्र्याउनु, र उद्योग व्यवस्थापनमा नयाँ दृष्टिकोण दिनु हो।

“विदेशी कम्पनीहरूले काठजन्य उत्पादनमा प्रयोग गर्ने आधुनिक प्रविधिबारे जानकारी नेपाली उद्यमीहरूलाई एकै स्थानमा उपलब्ध गराउने उद्देश्यले यो प्रदर्शनी आयोजना गरिएको हो। यसले हाम्रो उत्पादनको बजार विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्याउनेछ,” मिडिया स्पेस सोलुसनका प्रबन्ध निर्देशक सृजल भट्टराईले बताए। उहाँले यो प्रदर्शनीले नेपाली उद्योगलाई अघि बढाउन र अर्थतन्त्रलाई सुदृढ गर्न प्रेरणादायक हुने विश्वास व्यक्त गरे।

प्रदर्शनीमा प्लाइउडदेखि लिएर घर, होटल, रेस्टुरेन्ट र महलका ढोका, झ्याल, भर्याङ र अन्य सजावटका सामग्री उत्पादन गर्ने कम्पनीका १०० भन्दा बढी कक्षहरू छन्। प्रविधि हस्तान्तरणको लक्ष्यसहित आयोजना गरिएको तीनदिने प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। आयोजकका अनुसार, करिब ३०,००० दर्शकले यो प्रदर्शनीको अवलोकन गर्ने अपेक्षा गरिएको छ।

यस प्रदर्शनीमा ‘एआई’ प्रविधिको उपयोग गरेर घरभित्रको सजावट कसरी गर्ने, तथा साँघुरो ठाउँमा आन्तरिक सजावटका सिर्जनात्मक उपायबारे जानकारी प्रदान गरिनेछ। साथै, माघ ५ र ६ गते फर्निचर उद्योग सम्बन्धी कार्यशाला पनि आयोजना गरिने जानकारी दिइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button