ब्यारेकमा मृत फेला परेकी सशस्त्र प्रहरी निरीक्षक महतको घटनाको छानबिन गर्न समिति गठन

काठमाडौं-  पोखरास्थित हुल तथा दंगा व्यवस्थापन शिक्षालयमा आइतबार मृत अवस्थामा फेला परेकी सशस्त्र प्रहरी बल नेपालकी इन्स्पेक्टर सन्तोषी महतको घटनाको गहिरो अनुसन्धान गर्न प्रहरीले छानबिन समिति गठन गरेको छ।

यस घटनालाई थप स्पष्ट पार्न तथा सत्यतथ्य बाहिर ल्याउन सोमबार राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान, मातातीर्थमा कार्यरत डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। प्रहरी स्रोतका अनुसार, समितिले घटनाका सबै पक्षको अध्ययन गरी आवश्यक प्रतिवेदन तयार पार्ने जिम्मेवारी पाएको छ।

शनिबार राति महतलाई ब्यारेकभित्रैको शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला पारिएको थियो। प्रारम्भिक अनुसन्धानका आधारमा यो आत्महत्या भएको आशंका गरिएको छ। महत २०७२ सालमा सशस्त्र प्रहरी बलमा सिपाहीका रूपमा भर्ती भएकी थिइन्। उनले २०७८ सालमा असईमा नाम निकाल्न सफल भइन् भने हालै २०८१ सालमा इन्स्पेक्टरमा पदोन्नति पाएकी थिइन्।

पारिवारिक स्रोतका अनुसार, महतको सशस्त्र प्रहरी बलकै १६औँ बेसिक कोर्सका एक इन्स्पेक्टरसँग प्रेम सम्बन्ध थियो। तर, केही समययता उनीहरूको सम्बन्धमा दरार आएको बताइन्छ। यही प्रेम सम्बन्धमा आएको तनावकै कारण उनले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ। यसै आधारमा महतका परिवारजनले ती इन्स्पेक्टरविरुद्ध आत्महत्या दुरुत्साहन (उक्साहट) सम्बन्धी कसुरमा किटानी जाहेरी दिएका छन्।

हाल मृतकको शव परीक्षणका लागि काठमाडौं ल्याइएको छ। महतको स्थायी घर सिन्धुपाल्चोकमा भए पनि उनका बाबुआमा हाल अष्ट्रेलियामा बसोबास गर्दै आएका छन्। उनीहरू नेपाल आएपछि मात्र अन्त्येष्टि गर्ने तयारी गरिएको परिवार स्रोतले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button