एलएलडिसी देशहरूको तेस्रो सम्मेलनमा प्रधानमन्त्रीको सम्बोधन

आवाजा (तुर्कमेनिस्तान)- प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित राष्ट्रहरूलाई समावेशी र साझा उत्तरदायित्वमा आधारित विश्वव्यापी साझेदारीमार्फत समृद्धिको यात्रामा अगाडि बढ्न आह्वान गर्नुभएको छ। उहाँले नेपाललाई पूर्वाधार विकास र प्रविधिको प्रयोगद्वारा भूपरिवेष्टित अवस्थाबाट भूजडित राष्ट्रमा रूपान्तरण गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
तुर्कमेनिस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील देशहरूको (LLDCs) तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको प्लेनरी सत्रमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अल्पविकसित राष्ट्रहरूको समूह र नेपालको तर्फबाट बोल्दै भन्नुभयो , यदि क्षेत्रीय र अन्तर्राष्ट्रिय सहयोगलाई गहिरो बनाइएको खण्डमा, यी राष्ट्रहरूको भौगोलिक सीमितता समृद्धिको अवरोध बन्न सक्दैन।
उहाँले जलवायु परिवर्तन र विपद् जोखिमका कारण भूपरिवेष्टित राष्ट्रहरू पीडित रहेको उल्लेख गर्दै, डिजिटल अर्थतन्त्रतर्फको अग्रसरता र समावेशी, लचिलो आर्थिक विकासको स्पष्ट योजना आवश्यक भएको धारणा व्यक्त गर्नुभयो।
प्रधानमन्त्री ओलीले बलियो राजनीतिक इच्छाशक्ति, सबै देशलाई समेट्ने नवीकृत अन्तर्राष्ट्रिय साझेदारी, र सबै तहमा सहकार्यको खाँचो रहेको औँल्याउँदै, भूपरिवेष्टित राष्ट्रहरूले भूजडित, व्यापारमैत्री, र जलवायु अनुकूलित राष्ट्रको रूपमा रूपान्तरण गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँले भने, “संरचनात्मक रूपान्तरण, व्यापार सहजीकरण, क्षेत्रीय एकीकरण, यातायात र कनेक्टिभिटी, र जलवायु अनुकूलन नीतिको माध्यमबाट समानता र समावेशीतामा आधारित अवसरहरू सिर्जना गर्नुपर्छ।”
भूगोलको आधारमा कुनै पनि राष्ट्रको भाग्य निर्धारण हुन नहुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बलियो साझेदारी, दूरदर्शी लगानी, र अडिग सामूहिक इच्छाशक्तिको बलमा भूपरिवेष्टित अवस्थाका सीमाहरू पार गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।
उहाँले थपे, “हामी छिमेकी भारत र चीनसँग कनेक्टिभिटी र सहकार्यका विभिन्न क्षेत्रहरूमा समन्वयमा कार्य गरिरहेका छौं। हामी विश्वस्त छौं, छिमेकी राष्ट्रहरू तथा अन्तर्राष्ट्रिय समुदायको निरन्तर सहयोगबाट हामीले भूपरिवेष्टित अवस्थालाई अवसरको प्रवेशद्वारमा रूपान्तरण गर्न सक्छौं।”
नेपाल यस रूपान्तरणको लाभ उपभोग मात्र गर्ने होइन, साझेदारको रूपमा भूमिका खेल्न इच्छुक रहेको स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले नेपालको तर्फबाट ‘आवाजा कार्यक्रमको कार्यढाँचा’ लाई समर्थन दिइएको र यसलाई “समृद्ध नेपाल, सुखी नेपाली” अभियानसँग जोडेर कार्यान्वयन गरिने प्रतिबद्धता जनाउनुभयो।
सम्मेलनमा सहभागी मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरूले २३ गतेसम्म सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यस अवधिमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखहरू र संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका वरिष्ठ अधिकारीहरूसँग पनि भेटवार्ता गर्नुहुनेछ।



