आज सिडिओ र सीसीएमसीको बैठक बस्दै, निषेधाज्ञा बारे के होला निर्णय ?
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा लम्बिने भएको छ । यो विषयमा निर्णय गर्न उपत्यकाका तीन जिल्लाकै प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । निषेधाज्ञा लम्ब्याउने बारेमा निर्णय गर्न काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको बैठक बस्ने भएको हो ।
यस्तै सिडिओहरुको बैठकपछि आजै कोरोना संकट व्यस्थापन केन्द्र सीसीएमसीको बैठक पनि बोलाइएको छ । सीसीएमसीको बैठकले पछिल्लो साताको संक्रमणदर र मृत्युदरको समीक्षा गर्ने र थप निर्णय गर्ने बताइएको छ ।
पछिल्लो साता थप गरिएको निषेधाज्ञामा सरोकारवाला निकायसँगको छलफलबाट राति ८ बजेपछि अत्यावश्यक बाहेकका सबै किसिमका सवारी साधन चल्न रोक लगाइएको थियो। पछिल्लो साता थप गरिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदै छ।
काठमाडौं उपत्यकामा बैशाख १६ देखि जारी निषेधाज्ञा विस्तारै खुकुलो बनउँदै लगिए पनि सिनेमा हल, जिमखाना, विद्यालय, मठमन्दिरलगायत सार्वजनिक स्थलमा निषेधाज्ञा कायमै छ।




