प्रधानमन्त्री दाहाल सत्ता गठबन्धनभित्रै घेराबन्दीमा

काठमाडौं- सत्ता राजनीतिको खेलमा डेढ वर्षभित्र दुई पटक सत्ता गठबन्धन परिवर्तन गर्नुभएका प्रधानमन्त्री दाहाल यतिबेला सत्ता गठबन्धनभित्रै घेराबन्दीमा पर्नुभएको छ ।
उप-प्रमसमेत रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेका विषयमा नेपाली कांग्रेसले संसदीय छानबिनको माग गरी सदन अवरुद्ध गर्दै आएको छ । प्रचण्ड यसबारे मध्यमार्गी माग अपनाउन कुरा मिलाउने प्रयासमा हुनुहुन्छ ।
तर, एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसमा मान्नुभएको छैन । लामिछानेले त मान्ने कुरै भएन । लामिछानेको दलले साथ नदिए प्रचण्ड अल्पमतमा पर्नुहुन्छ । त्यसैले उहाँ अप्ठ्यारोमा हुनुहुन्छ ।
नेपाली कांग्रेससँग फेरि गठबनधन हुने सम्भावना कमजोर छ । प्रचण्डमाथि जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटाएको आरोप छ ।
उपेन्द्र यादव गठबन्ध्नबाट बाहिरिसक्नु भएको छ भने कुनै पनि बेला नेकपा एकीकृत समाजवादी (एस) ले साथ छाड्न सक्छ । किनभने यतिखेर माधव नेपालका लागि प्रचण्डलाई साथ दिनु बाध्यात्मक बनेको छ ।
यता ओलीसँग विगतको तिक्तता मेटिइसकेको छैन । कुनै पनि बेला ओलीले बदला लिन सक्ने सम्भावना उत्तिकै छ ।
यसरी प्रचण्ड सत्ता गठबन्धनबाट नै घेराबन्दीमा पर्नुभएको कारण पनि यसलाई तोड्न सहज छैन । उहाँले चाँडै नयाँ तरंग ल्याउने सम्भावना देखिएको छ ।



