संविधानको सफल कार्यान्वयनसँगै देशको उन्नती सुनिश्चित गर्न सबैले संकल्प आवश्यक : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको सफल कार्यान्वयनसँगै देशको उन्नती सुनिश्चित गर्न सबैले संकल्प आवश्यक रहेको बताएका छन् ।

७ औं संविधान दिवसका अवसरमा शुभकामना व्यक्त दिंदै प्रधानमन्त्री देउवाले थुप्रै चुनौतीहरुका बाबजुद संविधानको सफल कार्यान्वयनसँगै देशको उन्नती सुनिश्चित गर्न सबैले संकल्प गर्नु पर्ने आवश्यकता रहेको उल्लेख गरे ।

कांग्रेसको सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले कांग्रेस नेतृत्वको सरकारका पालामा संविधानसभाबाट विसं २०७२ असोज ३ गते घोषणा भएको नेपालको संविधान लामो संघर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि भएकोले संविधानको भावनालाई जनताको जीवनमा महशुस गराउने गरी कार्यान्वयन गर्न सरकार प्रयत्नशील रहेको बताए ।

मुलुकको अग्रगामी परिर्वतनका लागि अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञातअज्ञात शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री देउवाले परिवर्तनका लागि भएका संघर्षमा शारीरिक, भौतिक, आर्थिक र मनोवैज्ञानिक क्षति व्यहोर्नुपरेका व्यक्तिलाई उच्च सम्मानपूर्वक स्मरण गरे ।

प्राकृतिक विपद् र कोभिड–१९ को महामारीबाट अकालमा ज्यान गुमाउन पुगेका नागरिकहरुप्रति पनि प्रधानमन्त्री देउवाले श्रद्धासुमन व्यक्त गरे ।

संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई सुदृढ बनाउँदै मुलुकलाई आर्थिक विकासको मार्गमा अग्रसर गराउनु आजको आवश्यकता रहेको प्रधानमन्त्री देउवाको भनाई छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button