ग्रामीण भेगका बिद्यार्थीका रोजाईमा सुनकोशी क्याम्पस

रातोपाटीन्युज, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको ग्रामीण भेगका सबैभन्दा बढी बिद्यार्थीहरुको रोजाईमा सुनकोशी क्याम्पस पर्ने गरेको छ । बजार, शहर र सम्पन्न ठाउँका बिद्यार्थीहरुको पनि उक्त क्याम्पस छनौटमा पर्ने गरेको छ ।
शैक्षिक गुणास्तरीयता, बिद्यार्थीमैत्री अध्ययन क्रियाकलाप, उत्कृष्ट नतिजा, घर पायक कलेज भएकै कारण बिद्यार्थीका रोजाईमा उक्त क्याम्पस पर्ने गरेको हो ।

गरीब, जेहेन्दार, पिछडिएका बर्ग, दुर दराजका बिद्यार्थीहरुका लागि सुनकोशी कलेज बरदान साबित भएको क्याम्पस प्रमुख कृष्णप्रसाद आचार्यले जानकारी दिएका छन् । उनका अनुसार कुल बिद्यार्थीमध्ये ७० प्रतिशत छात्राहरु उक्त क्याम्पसमा अध्ययन गर्दै आएका छन् ।

गाउँघरमा नै बसेर, कुनै पनि पेशा, ब्यबसाय, जागिर गरेर स्थानीय ठाँउमा स्नातक अध्ययन गर्न पाउने भएपछि सुनकोशी क्याम्पसमा ग्रामीण भेगका साथै स्थानीय बजारबासी बिद्यार्थीहरुको बर्षेनी चाप बढ्ने गरेको क्याम्पस प्रमुख आचार्यले बताएका छन् । बिशेष गरी छोरीचेली, बुहारीलाई उक्त कलेजले स्नातक तह अध्ययनका लागि बरदान साबित भएको छ । घरबाट टाढा गएर स्नातक तह अध्ययन गर्नु पर्ने बाध्यतालाई सुनकोशी क्याम्पसले हटाई दिएको छ ।

शिक्षाशास्त्र संकाय, ब्यबस्थापन संकाय र मानविकी संकायमा अध्ययन गर्न पाइने भएका कारण बिद्यार्थीको छनौटमा सो कलेज पर्ने गरेको छ । बिशेष गरी सुनकोशी, बलेफी, जुगल, लिसंखुपाखर, त्रिपुरासुन्दरी, भोटेकोशी गाउँपालिका, बाह्बिसे नगरपालिका, चौतारासाँगचोकगढी नगरपालिकाका साथै दोलखा, काभे्रपलाञ्चोक, रामेछाप, सिन्धुली जिल्लाका बिद्यार्थीहरु सुनकोशी क्याम्पसमा अध्ययन गर्न आईरहेको सहायक क्याम्पस प्रमुख मोहनप्रसाद सुवेदीले जानकारी दिएका छन् ।

२०५७ साल भदौ १५ गते सो क्याम्पस स्थापना भएको थियो । स्थापना कालदेखि हालसम्म साँढे पाँच सय बिद्यार्थीहरुले स्नातक तह उतीर्ण गरिसकेका र हजारौं बिद्यार्थी स्नातक तह अध्ययन गर्ने अवसर प्राप्त गरेको प्रमुख आचार्यले बताएका छन् । अहिले दुई सय ७३ बिद्यार्थी स्नातक तहमा अध्ययनरत छन् ।

स्नातक तह उतीर्ण बिद्यार्थीहरुले स्वदेश र बिदेशमा बिभिन्न क्षेत्रमा सफलतापूर्वक कार्य गरिरहेको उनले जानकारी दिए । सो क्याम्पसका छात्र साजन लामाले सुनकोशी क्याम्पसको शैक्षिक कार्यकलाप उत्कृष्ट रहेको बताए । बिद्यार्थीबाट उठेका शुल्क, बिश्वबिद्यालय अनुदान आयोग, प्रदेश सरकार, भोटेकोशी पावर कम्पनी, स्थानीय निकायबाट प्राप्त हुने सहयोग भन्दा अन्य आम्दानीका स्रोतहरु नभएकोले क्याम्पस संचालन निकै चुनौती रहेको प्रमुख आचार्यले बताएका छन् । क्याम्पसलाई सबै तह र निकायबाट सहयोगको अपेक्षा गरिएको आचार्यले बताएका छन् ।
२२ औं स्थापना दिवश सम्पन्न
गत १५ गते सुनकोशी क्याम्पसले २२ औं स्थापना दिवश सम्पन्न गरेको छ । बागमती प्रदेश सभा सदस्य सरेश नेपालको प्रमुख आतिथ्यतामा स्थापना दिवश सम्पन्न भएको छ । उक्त स्थापना दिवशमा क्याम्पस प्रमुख कृष्णप्रसाद आचार्यले क्याम्पसको प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । स्थापना दिवशमा जग्गादाता राजकुमार श्रेष्ठ र ईश्वरलाल श्रेष्ठलाई दोसल्लासहित सम्मान गरिएको थियो ।

बिधान मस्यौदा समितिका रामकृष्ण पराजुली बलेफी गापा ७, सुर्दशन श्रेष्ठ सुनकोशी गापा ७ बासु जिसी सुनकोशी ७, कृष्णप्रसाद आचार्य क्याम्पस प्रमुखलाई पनि दोसल्ला सहित सम्मान गरिएको थियो । यसैगरि क्याम्पसलाई सहयोग गर्ने लामोसाँघु भ्याली समाज (बलदेव श्रेष्ठ), पुमोरी इन्जिनियरिङ सर्भिसेस प्रालि (रबिन्द्र प्रधान) लगायतलाई दोसल्लाले सम्मान गरिएको थियो ।
क्याम्पसको भौतिक अबस्था
सुनकोशी क्याम्पसका क्याम्पस प्रमुख कृष्णप्रसाद आचार्यका अनुसार सुनकोशी क्याम्पसको नाममा जम्मा १४ आना जग्गा रहेको छ । दाताहरुले क्याम्पसलाई सहयोग गरेको बाँकी जग्गा क्याम्पसको नाममा आउन बाँकी रहेको छ । क्याम्पसका २३ कोठा रहेका छन् ।

दुई दुई कोठा भएको २ वटा ब्लकहरु छन् । पुरानो भवनमा ९ कोठा छन् । ९ कोठाको आरसिसि भवन छ । नयाँ भवन ४ कोठा, बागमती प्रदेश सरकार सहयोगबाट ६ कोठे आरसिसि भवन निमार्ण भएको छ । तीन वटा शौचालय छन् । अझै ४ कोठे आरसिसि भवन आवश्यक परेको क्याम्पस प्रमुख आचार्यले बताए । ब्यबस्थित खानेपानीको समस्या रहेको छ ।

यसैगरि उक्त क्याम्पसलाई बागमती प्रदेश, सुनकोशी गाउँपालिका, युजीसी, भोटेकोशी पावर कम्पनी, पुमोरी इन्जिनिरिङ, लामोसाँघु भ्याली समाज, बिभिन्न ब्यक्तिहरुले भौतिक संरचना लगायतमा सहयोग गरेका छन् । साथै क्याम्पस संचालक समितिका अध्यक्ष सुकदेव तिमल्सिनाले ब्यक्तिगत लगानीमा दुई कोठे ब्लक निमार्ण गरिदिएका छन् ।

भूकम्पपछि बिद्यार्थीलाई अध्ययन गर्ने कोठा नभएको बेला अध्यक्ष तिमल्सिनाले ब्यक्तिगत ७ लाख पचास हजार रुपियाँमा दुई कोठे ब्लक बनाई दिएका थिए । साथै २२ औं स्थापना दिवशमा अध्यक्ष तिमल्सिनाले उक्त क्याम्पसमा अध्ययनरत छात्रछात्रालाई आफूले प्राप्त गरेको वृद्धभत्ताबाट नगद छात्रवृति दिएका थिए ।




