प्रधानमन्त्री ओलीलाई दिल्लीले विश्वास नगरेपछि बेइजिङको तयारी

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो औपचारिक विदेश भ्रमण भारतबाट सुरु गर्ने इच्छा भए पनि भारत सरकारले निमन्त्रणा नदिएपछि अब उनको पहिलो भ्रमण चीनबाट हुने लगभग पक्का भएको छ।
नेपाल सरकारले प्रधानमन्त्रीको चीन भ्रमणको तयारी सुरु गरिसकेको छ। संयुक्त राष्ट्रसंघको महासभा सत्रका क्रममा न्यूयोर्कमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिए पनि भारतले उनलाई दिल्ली भ्रमणको निमन्त्रणा नदिएको र मोदीको नेपाल भ्रमणको मिति पनि स्पष्ट नभएको परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले बताएका छन्।
परराष्ट्र मामिलाका विज्ञहरूको अनुसार, प्रधानमन्त्री ओली भारतप्रति संकेत दिनका लागि भए पनि चीन भ्रमणको तयारीमा जुटेको देखिन्छ। परराष्ट्र मन्त्रालयका अनुसार, ओलीले मंसिर १७ देखि २१ सम्म पाँच दिने चीन भ्रमण गर्ने सम्भावना छ, र चीनले पनि यसै अवधिको मिति तय गर्दै निमन्त्रणा पठाइसकेको छ।
चीनले भ्रमणको मिति निश्चित गरेर निमन्त्रणा पठाएसँगै प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयले भ्रमणको तयारी र आवश्यक तालमेलका लागि छलफल सुरु गरिसकेका छन्, जसको संयोजन परराष्ट्रमन्त्री आरजु राणा देउवाले गरिरहेकी छिन्। केही दिनअगाडि बसेको कांग्रेस–एमाले संयन्त्रको बैठकले पनि भ्रमणको तयारी र संयोजनको जिम्मेवारी परराष्ट्रमन्त्री आरजुलाई दिएको थियो।
चीनले औपचारिक रूपमा निमन्त्रणा गरेको भए पनि नेपाल सरकारले भने भ्रमणका बारेमा औपचारिक घोषणा गरेको छैन। प्रधानमन्त्रीको भ्रमण तयारीलाई मध्यनजर गर्दै परराष्ट्रमन्त्री राणाले अजरबैजानमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी कोप–२९ सम्मेलनमा आफ्नो सहभागिता स्थगित गरेकी छिन्, र सो सम्मेलनमा राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा नेपालको प्रतिनिधिमण्डल जानेछ।
अमेरिकामा राष्ट्रसंघ महासभाको सत्रमा भाग लिन जाँदा प्रधानमन्त्री ओली र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भएको भेटमा, वाङले नोभेम्बर अन्त्य वा डिसेम्बर प्रारम्भमा चीन भ्रमणको निमन्त्रणा दिन चाहेको संकेत दिएका थिए। यसै अनुरूप, चिनियाँ प्रधानमन्त्री ली छ्याङले डिसेम्बर २ देखि ६ सम्मको मितिमा ओलीलाई चीन भ्रमणको निमन्त्रणा पठाएका हुन्।
यसबीच, परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्रीको भारत भ्रमणको प्रयास पनि गरिरहेकी थिइन्। ओली र मोदीको भेट अमेरिकामा भएको बेलामा नेपालले औपचारिक रूपमा मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको थियो, तर भारतले भने ओलीलाई दिल्ली भ्रमणका लागि अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। यसअघि प्रचण्ड प्रधानमन्त्री हुँदा उनले भारत र चीन दुबैको भ्रमण गरिसकेका थिए।
प्रधानमन्त्री ओलीको चीन भ्रमणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ऋणलाई अनुदानमा रूपान्तरण गरिदिन विशेष अनुरोध गर्ने र बीआरआई परियोजना कार्यान्वयनलगायतका विषयमा छलफल हुने जनाइएको छ। यद्यपि भ्रमणका औपचारिक एजेन्डा भने तय भइसकेका छैनन्।




