ओलीको शैलीलाई कारण देखाउँदै वामदेव गौतमले एमाले छाडे

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले एमालेका सबै पदबाट राजीनामा दिएका छन्।

शुक्रवार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै उनले पार्टीको उपाध्यक्षको पद र पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका हुन्।

उनका स्वकीय सचिव दीपक टमटामार्फत पार्टी कार्यालय सचिव शेरबहादुर तामाङलाई सबै पदबाट राजीनामा दिएको पत्र बुझाएका हुन्।

नेता गौतमले पार्टी अध्यक्ष ओलीलाई पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशालाई कहिले पनि अवलम्बन नगरेको आरोप लागाउदै असन्तुष्ट व्यक्त गर्दै आएका थिए । उनले बुझाएको राजीनामापत्रमा ओलीको कार्यशैलीको आलोचना गरेका छन् ।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङले गौतमले राजीनामा पत्र बुझाउँदै एमालेका नेताहरुसँग व्यक्तिगत सम्बन्ध रहे पनि राजनीतिक रुपमा एमालेमा अब रहन नसक्ने बताएको जानकारी दिए ।

गौतम नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका थिए । उनी नेकपा एकीकरणपछि पनि उपाध्यक्ष बनेका थिए । उनी नेकपा विभाजनपछि दुवै पक्षमा नलागी एकता अभियान चलाइरहेका थिए ।

एमाले ब्युँतिएपछि केही बैठकहरुमा भाग लिएका गौतमले पछिल्लो समय माधव नेपालले एमाले विभाजन गरेपछि नयाँ पार्टीमा लाग्ने घोषणा गरेका थिए । उनले एकीकृत समाजवादीले जनताका बहुदलीय जनवाद छाडेको भन्दै उनले माधव नेपालसँग जवाफ मागेका पनि छन् ।

यस्तो छ पत्रः

कमरेड अध्यक्ष नेकपा (एमाले),

केन्द्रीय कार्यालय थापाथली, काठमाडौं।

विषयः राजीनामा।

कमरेड, नेकपा एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट तपाईं पार्टीको अध्यक्षमा निर्वाचित हुनुभएपछि तपाईंले नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशालाई कहिले पनि अवलम्बन गर्नुभएन। नेपालको संविधान, २०७२ जारी भएपछि पहिलो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७४ मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को ‘साझा घोषणा’लाई तपाईं प्रधानमन्त्री हुनुभएपछि आफ्नो कार्यकालभरि त्यसलाई लागू गर्नुभएन।

तपाईंले गर्नुभएका कतिपय कामहरूलाई पटक पटक सर्वोच्च अदालतको संवैधानिक इजलासले असंवैधानिक भन्दै खारेज गरेपछि पनि तपाईंले आफूलाई सुधार गर्न सक्नुभएन। जनताको बहुदलीय जनवाद र जननेता मदन भण्डारीका विचार र मान्यता ‘संविधानको सर्वोच्चता’ र ‘कानुनी राज्य’को सिद्धान्तलाई परिपालना गर्नुभएन।

जननेता मदन भण्डारीको नवीन सोच ‘कम्युनिस्ट पार्टीले जनताको जनादेशको आधारमा राज्यसत्ता संचालन गर्नुपर्छ’ भन्ने मान्यताका विपरीत जनताको अत्यधिक बहुमत झण्डै दुई तिहाइ जनताको जनादेशलाई लत्याउँदै पहिलो पटक २०७७ पौष ५ गते र दोस्रो पटक २०७८ जेष्ठ ७ गते दुई(दुई पटक संविधानविपरीत जनताद्वारा निर्वाचित सदन भंग गर्नुभयो।

तपाईं पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनुभएपछि पार्टीको राजनीतिक कार्यदिशा, पार्टीको विधान तथा पार्टीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता र ‘सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारी’लाई पालना गर्नुभएन।

पार्टीलाई लोकप्रिय बनाउन सरकार गठनको एक वर्षपछि मैले लिखित सुझाव दिएको थिएँ। तपाईंको कार्यशैली जनमुखी बनाउन धेरै पटक व्यक्तिगत रूपमा सुझावहरू पनि दिएा। तर, तपाईं सुध्रिनुभन्दा अझ बढी व्यक्तिवादी र स्वेच्छाचारी बन्दै जानुभयो।

आफ्ना समकक्षी कमरेडहरूलाई समेत तपाईंले अवलम्बन गर्नुभएका गलत नीति र विचारअनुसार नचल्दा एकपछि अर्को गरी अपमान गर्ने, कार्यबाही गर्ने र पार्टीबाट निश्कासनसम्म गर्नेजस्ता स्वेच्छाचारी तथा निरंकुश प्रवृत्ति र शैली अँगाल्नुभयो।

त्यति मात्र होइन, तपाईंले सम्माननीय राष्ट्रपतिज्यूलाई समेत आफ्ना स्वेच्छाचारी तथा सर्वसत्तावादी नीति र निर्णयहरू कार्यान्वयन गर्न दुरूपयोग गर्नुभयो। म आफैँ संलग्न भएर निर्माण भएको नेकपा एमालेमा तपाईंकै गलत विचार, प्रवृत्ति र शैलीका कारण यस पार्टीमा रहिरहन असमर्थ भएकाले आजको मितिमा पार्टीको उपाध्यक्षको पद र पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएको छु।

फेरी पनि तपाईंसँगको चार दशक लामो मित्रताका कारण अब उपरान्त पनि हामी दुईबीचको व्यक्तिगत सम्बन्ध मित्रतापूर्ण रहोस् भन्ने अपेक्षा छ।

धन्यवाद।

१८ भदौ २०७०

बामदेव गौतम, ललितपुर म.न.पा. २५, सैँबु आवास क्षेत्र।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button