आज हिन्दु नेपाली महिलाहरुको महान चाड तीज पर्व मनाइँदै

काठमाडौं । हिन्दु नेपाली महिलाहरुको महान चाड तीजको आज महत्वपूर्ण दिन । आजको दिन ब्रत बसेर भगवान शिवको पुजा अर्चना गर्ने धार्मिक परम्परा रहेको छ ।

निरहार तथा फलहार ब्रत बसेका महिलाहरु दिनभरि भगवान शिवको पुजा आरधना गर्दै नाचगान गरी तीज मनाउँछन । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ।

आज देशभरका शिवालयहरुमा मेला लाग्ने गर्दछ । बुधबार दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तृतीयाका दिन हरितालिका व्रत, चौंथीका दिन, गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ। त्यस्तै आज काठमाडौंको पशुपतिनाथ मन्दिरमा पनि ब्रतालुहरुको ठूलो घुइँचो लाग्छ । तर यस पटक भने कोरोना संक्रमणको जोखिम कायमै रहेकाले यस वर्ष पनि तीजका अवसरमा पशुपतिनाथ मन्दिर खुल्ला गरिएको छैन ।

कोरोना महामारीका कारण पशुपतिनाथ मन्दिर वैशाख पहिलो सातादेखि नै बन्द गरिएको हो । नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम केही कम भएकाले मुख्य मन्दिर खुल्ला नगरिए पनि पाशुपत क्षेत्रका अन्य स्थानहरुमा पुजा अर्चना गर्न सकिने पशुपति क्षेत्र विकास कोषले बताएको छ । पाशुपत क्षेत्रमा आउँदा मास्क अनिवार्य लगाउन, भौतिक दूरी कायम गर्नलगायतका स्वास्थ्य मापदण्डहरुको पूर्ण पालना गर्न कोषले आह्वान गरेको छ । पशुपतिनाथबाहेकका देशका अन्य धेरै मन्दिरहरु खुल्ला भएकाले तीजका ब्रतालुहरुलाई केही सहज भएको छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेव पति पाउने वरदान पाएकी थिइन्। तर पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन्।

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए। साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रुपमा प्राप्त गरिन्। यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ।

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ। जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ। सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ।

निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए। ‘निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम छन्, सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुन्छ,’ उनले भने। स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केराजस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने उनले बताए।

श्रीमानको दीर्घायुको कामनाका लागि मात्र तीजको व्रत बसिने भनेर गलत प्रचार भइरहेको वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख डा देवमणि भट्टराईले बताए। ‘अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान छ,’ उनले भने।

नारीले परिवारको अभिभावकका रुपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेका अवस्थामा अथवा रजस्वला भएका बेलामा पुरुषले पनि व्रत बस्ने गरेका छन्। यस अर्थमा अहिले केही नारीवादीले उठाएजस्तो विभेदकारी व्रत परम्परा पनि तीज नभएको धर्मशास्त्रविद्हरुको भनाइ छ। समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेको धर्मशास्त्रीहरुको मत छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button