एकीकृत समाजवादीको केन्द्रीय कार्यालय उद्घाटन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आज आफ्नो केन्द्रीय कार्यालयको उद्घाटन गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले बानेश्वरको आलोकनगरमा रहेको केन्द्रीय कार्यालयको शुक्रबार शुभारम्भ गर्नु भएको हो ।
शुक्रबार एकीकृत समाजवादी पार्टी कार्यालय शुभारम्भ गर्दै अध्यक्ष नेपालले यसै हप्ताभित्र सरकार बन्ने बताएका हुन्। ‘बागमती प्रदेशमा पनि सरकार बनाउने तयारी छौं। प्रदेश १ मा पनि सरकार बनाउने छौं। आशा गरौं यो हप्ता भित्र हुन्छ’ अध्यक्ष नेपालले भने।
नेकपा एमाले विभाजन गरी गठन भएको एकीकृत समाजवादीका बागमती प्रदेश सभामा १३ जना प्रदेश सभा सदस्य छन्। नेकपा (एमाले) का ५६ जना प्रदेश सभा सदस्यमध्ये १३ जना प्रदेश सभा सदस्यले एकीकृत समाजवादी रोजेका हुन्।
१३ जना प्रदेश सांसदहरुले एकीकृत समाजवादी रोजेपछि एमाले उपाध्यक्ष समेत रहेकी अष्टलक्ष्मी शाक्यको वर्तमान सरकार अल्पमतमा परेको छ।
प्रदेश एकमा नेकपा एमालेका ५१ सदस्य रहेका थिए जसमध्ये १० जना एकीकृत समाजवादी पार्टी लागेका थिए। एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आगामी असोज ५ गतेदेखि बस्दैछ। बैठकले जिल्ला इन्चार्ज, अध्यक्ष, प्रदेश अध्यक्ष, सचिव तोक्ने एजेण्डा रहेका छन ।




